१६ हजार ९१७ हेक्टरमा चियाखेती, निर्यात दोब्बर « Imagekhabar – Online News Portal of Nepal


१६ हजार ९१७ हेक्टरमा चियाखेती, निर्यात दोब्बर


65
Shares

काठमाडौं । नेपालमा सोह्र हजार नौ सय १७ हेक्टर जमिनमा चिया खेती गरिएको तथ्याङ्क सार्वजनिक भएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २६औं राष्ट्रिय चिया दिवसको अवसर पारेर बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले पछिल्लो एक वर्षको अवधिमा चिया निर्यात गरेर दोब्बर विदेशी मुद्रा नेपालमा भित्र्याउन सफल भएको दाबी समेत गर्नुभयो ।

बोर्डले यस वर्षको चिया दिवसको नारा ‘गुणस्तरीय चिया उत्पादन र सुनिश्चित बजार । चियाको निर्यात आर्थिक समृद्धिको आधार’ भन्ने तय गरेको छ ।

कार्यकारी निर्देशक भट्टराईले चियामा लगानी बढाउन सकिए यसलाई मुलुकको आर्थिक समृद्धिको आधार बनाउन सकिने पनि स्पष्ट पार्नुभयो ।

बोर्डले हरेक वर्षको वैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाउँदै आएको छ । नेपालमा १६ हजार भन्दा बढि चिया कृषक र यस क्षेत्रमा ६० हजार भन्दा बढि श्रमिक संलग्न रहेको पनि बोर्डको भनाइ छ ।