सहज हुँदै ग्यास, आयात बढाएकाले नआत्तिन निगमको आग्रह « Imagekhabar – Online News Portal of Nepal


सहज हुँदै ग्यास, आयात बढाएकाले नआत्तिन निगमको आग्रह


273
Shares

काठमाडौं । चैत ६ गतेदेखि १९ गतेसम्म ग्यास व्यवसायीले गरेको हड्तालको असर अहिले पनि आमउपभोक्ताले व्यहोरिरहेका छन् ।

उपभोक्ता आत्तिएर चाहिनेभन्दा बढी ग्यास भण्डारण गर्न खोज्दा ग्यास अभाव जस्तो देखिए पनि बजारमा ग्यास अभाव भने नरहेको ग्यास बिक्रेताको भनाइ छ ।

दैनिक एक ग्यास डिलरमा ८० देखि १ सय १५ वटासम्म सिलिण्डर पठाइने भएकाले पनि ग्यास अभाव नरहेको दाबी व्यवसायीको छ ।

यसअघिको कारोना संक्रमणको बेला भएको नाकाबन्दीको असर, नजिकिँदै गरेको चुनावको प्रभाव, रुस–युक्रेन युद्धलगायत श्रीलंकामा देखिएको आर्थिक संकटका कारण उपभोक्ता त्रसित देखिएको ग्यास विक्रेता रेविता पौडेलको तर्क छ ।

नाकाबन्दीको मनोवैज्ञानिक असर आम उपभोक्तामा अझै कायम भएकाले पनि हाल स्टक राख्ने चलन बढ्दै गएको उनीहरू बताउँछन् । साथै मिडियामा आउने समाचारको प्रभाव पनि बजारमा देखिने उपभोक्ता स्वीकार्छन् ।

व्यवसायीको आन्दोलन, युद्ध लगायतका समाचारले पहिलाकै स्थिति पुग्ने हो कि भन्ने डर लाग्ने उनीहरू बताउँछन् ।

नाकाबन्दीको बेलामा भोकै सुतेको पीडा अझै पनि उनीहरूले भुल्न सकेका छैनन् । यद्यपि अहिले भने २ देखि ३ घण्टा लाइनमा बस्दा ग्यास पाइएको उपभोक्ता बताउँछन् ।

हाल आपूर्ति व्यवस्था सहज र भण्डारण पनि उल्लेख्य रहेकाले नआत्तिन आयल निगमले आग्रह गरेको छ ।

यसअघि भारतबाट दैनिक ७० देखि ८० बुलेटसम्म ग्यास आउने गरेकोमा अहिले भने १ सय ३५ बुलेटसम्म आउने गरेकाले आपूर्ति असहज नहुने निगमको दाबी छ ।

एकातिर हल्लाले प्रभावित बजार र अर्कातिर भण्डारमा तम्सिने उपभोक्ताले संयम राख्न जरुरी छ ।