
काठमाडौं । सत्ता गठबन्धनको बैठक मंगलबार राति पुनः बस्ने भएको छ ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगर र उपमहानगरको सिट बाँडफाँटमा केही दिन यताको प्रयासले सार्थकता पाउन नसक्दा बैठक पुनः बस्न लागेको हो ।
मंगलबार दिउँसो ३ बजेबाट सुरु भएको गठबन्धनको बैठक साँझ ७ बजेपछि सकिएको थियो । बैठकमा महानगर र उपमहानगरबारे समग्रमा छलफल भइरहेको बैठकपछि सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
दिउँसोबाट बसेको बैठक केही बेर रोकिएर पुनः बस्न लागेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार गठबन्धनको अर्को बैठक आजै राति १० बजे पुनः बस्ने छ । तर सरकारका प्रवक्ताले भने बैठक जारी हरेको प्रतिक्रिया दिएर बाहिरिनुभएको थियो ।
महानगरको विषयमा मोटामोटी सहमति भए पनि उपमहानगरका विषयमा अब छलफल हुने स्रोतको भनाइ छ ।
सोमबार दिनभर बस्दा सहमति हुन नसकेपछि मंगलबार दिउँसो तीन बजेदेखि गठबन्धनको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको थियो ।
सिट बाँडफाँटका विषयमा निष्कर्षको नजिक पुगेको कार्कीले जानकारी दिनुभयो ।
‘बैठकमा हरेक कोणबाट विचारहरु आएका छन् सबै सकारत्मक रुपले अघि बढेका छन्’ उनले भने, ‘बैठक जारी छ । छलफल सकारात्मक रुपले अघि बढिरहेको छ । हामी निष्कर्षको चरणमा प्रवेश गरेका छौं, अहिले बैठक जारी छ ।’
आफूहरु ६ वटा महानगरपालिका र ११ उपमहानगरको विषयमा समग्रमा छलफल गरिरहेको उहाँले बताउनुभयो ।
‘हामीले समग्रमा ६ वटा महानगरपालिका र ११ उपमहानगरको विषयमा छलफल गरेका छौं र अन्तिम निर्णयमा सकारात्मक रुपमा पुग्न लागेका छौं ।’
प्रतिक्रिया दिनुहोस्