२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक बैशाख ९ गते बस्दै


52
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक आगामी बैशाख ९ गते बस्ने भएको छ ।

परिषद्का सदस्य सचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राखेपको बोर्ड बैठक बैशाख ९ गते बोलाएका हुन् ।

सोही अनुसार राखेपले बोर्ड सदस्यलाई बैशाख ९ गते बैठकका लागि सुचना जारी गरेको छ । झण्डै दुई वर्षपछि राखेपको बोर्ड बैठक पहिलो पटक बस्न लागेको हो ।

मन्त्री गहतराजले कार्यभार सम्हालेलगत्तै राखेपको बोर्ड बैठक बसाउने तयारी गर्नुभएको थियो । तर सदस्य सचिव र बोर्ड सदस्यको मुद्धा अदालत प्रवेश गरेसँगै बैठक प्रभावित बनेको थियो । शुक्रबारको बैठकमा अदालत प्रवेश गरेका बोर्ड सदस्यलाई बोलाईएको छैन ।

तत्कालिन केपी ओली नेतृत्वको सरकारका खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले राखेपको अध्यक्षको हैसियतमा नियुक्त गरेका ९ जना बोर्ड सदस्यलाई मन्त्री गहतराजले पदमुक्त गर्नुभएको थियो ।

अदालतमा बोर्ड सदस्यको मुद्धाको पेशी बैशाख ७ गते रहेको छ । अदालतबाट सदस्य सचिवमा घिसिङको पुर्नबहाली भएसँगै खेलकुद मन्त्री गहतराजले बोर्ड बैठकको तयारी गर्नुभएको थियो । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद जेठमा आयोजना गर्ने निर्णय गराएका मन्त्री गहतराजले बोर्ड बैठकमा खेल क्षेत्रको विभिन्न योजनाका विषयमा छलफल गर्ने बुझिएको छ ।

यसैबीच राखेपका सदस्य–सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमा हुने बताएका छन् । सदस्य–सचिव घिसिङको अध्यक्षतमा सातै प्रदेशका सदस्य–सचिव, तीन विभागीय टोलीका प्रतिनिधि, नेपाल ओलम्पिक कमिटीका प्रतिनिधिको उपस्थितिमा भएको नवौं राष्ट्रिय खेलकुद समन्वय समितिको पहिलो बैठकमा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।

नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म हुँदै छ ।