
काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आफ्नो अन्तिम खेलमा च्याम्पियन चर्च ब्वाइज युनाईटेडले जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइजले सरस्वती युथ क्लबलाई २–१ गोल अन्तरले हराएको हो । यस जितसँगै च्याम्पियन चर्च ब्वाइजले सिजनको सुखद अन्त्य गरेको छ । चर्च ब्वाइजले एक खेल अगाबै लिगको उपाधि जितेको थियो। ‘ए’ डिभिजन लिगमा उक्लिएको थियो ।
चर्च ब्वाइजले लिगको १३ खेलमा २९ अंक जोड्यो । उसले ९ खेल जित निकाल्दा दुई खेलमा बराबरी र दुई खेलमा हार व्यहोर्यो। सरस्वतीले १३ खेलमा १७ अंक जोड्यो । लिग अन्तर्गत आफ्नो अन्तिम खेलमा बाँसबारीले पनि जित निकालेको छ। बाँसबारीले झम्सिखेल युथ क्लबमाथि २–१ गोलको जित निकाल्यो । जितसँगै बाँसबारीले १३ खेलमा १९ अंक जोडेको छ ।
झम्सिखेलले १३ खेलमा ९ अंक जोडेको छ । पुछारमा रहेको झम्सिखेल रेलिगेसनमा परेको छ ।
प्रतिक्रिया दिनुहोस्