
काठमाडौं । लामो समयदेखि विवादमा रहेको पोखराको फेवाताललगायत नौ तालको मापदण्ड पोखरा महानगरले नै टुंग्याएको छ ।
कार्यपालिकाको ५५ औं बैठकले फेवातालसहित नौ वटै तालको मापदण्ड निर्धारण गरेको हो । फेवातालको मापदण्ड कति भन्ने विषय लामो समयदेखि विवादित बनेकोमा महानगरले यसको मापदण्ड ३० मिटर कायम गरेको हो ।
फेवातालको मापदण्ड र सीमांकनको विषयमा अनाधिकृत संरचना बन्दै गएको भन्दै २०६८ असार २३ गते खगेन्द्र सुवेदीलगायतले सर्वोच्चमा रिट हाल्नुभएको थियो । सो रिट उपर सर्वोच्चले २०७५ वैशाख १६ गते तीनै तहका सरकारलाई निर्देशनात्मक आदेश दिएर विवादलाई टुंगो लगाउन भने पनि यसको विवाद टुंगिन सकेको थिएन ।
मापदण्ड ६५ मिटर र ३० मिटर राख्ने भन्ने विषयमा विवाद रहँदै आएको थियो । मापदण्ड तोक्नका लागि वडा नम्बर १७ का अध्यक्ष तीर्थराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति गठन भएको थियो । उहाँका अनुसार बेगनाश र रुपातालको मापदण्ड पनि एकसय मिटरबाट ५५ मिटर कायम गरिएको छ ।
तत्कालीन लेखनाथ नगरपालिकाले यस क्षेत्रका तालको मापदण्ड एक सय मिटर तोकेको थियो । अरु दीपाङ, खास्टे, गुँदे, न्युरेनी, मैदीतालको मापदण्ड भने २० मिटर कायम गरिएको छ ।योसँगै मापदण्ड भन्दा बाहिरका कित्ताको जग्गा फुकुवा गर्नका लागि सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय भएको छ । उपत्यका नगर विकास समितिले ताल विकासका लागि भन्दै दशक अगाडि नजिकका जग्गा रोक्का राख्ने निर्णय गरेको थियो।
नेपाल राजपत्रको खण्ड ७० भाग ५ मा फेवातालको क्षेत्रफललाई ११ हजार २ सय ५५ रोपनी ११ आना एक पैसा (५.७२६ वर्गकिलोमिटर) कायम गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्