Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


जनप्रतिनिधिले राजीनामा दिनुपर्ने ब्यवस्थाप्रति एमालेको आपत्ति


1.2k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले भने निर्वाचनमा उम्मेदवार बन्ने स्थानीय तहका जनप्रतिनिधिले मनोनयन दर्ता अघि नै राजीनामा दिनुपर्ने आचार संहिताको व्यवस्थाप्रति आपत्ति जनाएको छ ।

एमाले उपमहासचिव विष्णु रिमालले आज शुक्रबार बिहान ट्वीटर मार्फत नगरपालिकाका मेयर वा गाउँपालिका अध्यक्षले किन राजीनामा दिनुपर्ने भन्ने प्रश्न गर्नुभएको हो ।

रिमालले प्रधानमन्त्रीले पदमै बसेर चुनाव लड्न पाउने तर पालिकाका प्रमुखहरुले किन राजीनामा दिनुपर्ने भन्ने प्रश्न गर्नुभएको छ ।

निर्वाचनमा जाँदा पदको दुरूपयोग नहोस् भन्नेतर्फ सचेत हुनुपर्ने भए पनि सेवा नै रोक्ने गरी आचारसंहिता बनाउनु उचित नहुने उहाँको तर्क छ ।

रिमालले स्थानीय तह निर्वाचन ऐनको व्यवस्थाप्रति पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराउनु भएको छ ।

यस्तै, एमाले प्रचार विभाग प्रमुख विष्णु रिजालले पनि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने ब्यवस्थालाई हाँस्यास्पद भन्नुभएको छ । ‘स्थानीय तहको निर्वाचन लड्न जनप्रतिनिधिहरुले पदबाट अग्रिम राजीनामा दिनुपर्ने प्रावधान विभेदकारी, पूर्वाग्रही र हाँस्यास्पद छ,’ रिजालको कटाक्ष छ ।

यस्तो आचारसंहिता लागू गर्ने हो भने सरकारविहिन अवस्थामा निर्वाचनमा जानुपर्ने उहाँको भनाइ छ ।

निर्वाचन आयोगले राजपत्रमा बिहीबार जारी गरेको आचारसंहितामा ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी बहाल रहेको निर्वाचित वा मनोनीत पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्नु अगावै बहाल रहेको पदबाट राजीनामा गर्नुपर्नेछ,’ भनी उल्लेख छ ।