Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


दुर्गमबस्तीमा पूजा प्रतिष्ठानको स्वास्थ्य शिविर, २५० लाभान्वित


0
Shares

-सन्दीप पौड्याल, ईमेज । 

मकवानपुर । नेपाल पूजा प्रतिष्ठानले मकवानपुरको भीमफेदी–६ चिसापानी गढीमा बृहत स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

शनिबार बटुक भैरव प्राथमिक बिद्यालयमा आयोजना गरिएको एक दिने स्वास्थ्य शिविरमा दुर्गम भेगका २५० बासिन्दाले स्वास्थ्य लाभ उठाएका थिए ।

शिविरमा काठमाडौंका बिभिन्न अस्पतालका १२ जना वरिष्ठ चिकित्सकहरुले निशुल्क सेवा प्रदान गरेका थिए ।

शिविरमा कार्यरत चिकित्सकहरुमा डा अच्युतराज भण्डारी नसा तथा हाडजोर्नी, डा. दिनेशचन्द्र पोख्रेल फिजिसियन, डा उमा श्रीबास्तव स्त्री रोग तथा निशन्तान, डा दिनेशविनोद पोख्रेल चर्म रोग, डा उदयराज उपाध्याय बालरोग, डा. सुसन भट्टराई, बालरोग, डा. श्रीकृष्ण देवकोटा,बालरोग, डा. असिम भट्टराई, जनरल फिजिसियन, डा. सरिना राजभण्डारी, नाक, कान घाँटी, डा. मनोज यादव, फोक्सो, डा. सदिक्षा खरेल, फिजिसियन छन् ।

शिविरमा जचाउन आउने बिरामीहरुमध्ये महिला, नशा तथा हाडजोर्नीमा बढी समस्या देखिएको थियो ।

जसमा डा.उमा श्रीबास्तवले चार जना महिला बिरामीलाई काठमाडौं बोलाई निशुल्क उपचार गर्ने प्रतिबद्धता गरेकी छिन् ।

शिविरमा चिकित्सकको साथै चिसापानी गढीका स्वयम् सेवक, बटुक भैरव प्राथमिक बिद्यालयका शिक्षक, भीमफेदी स्वास्थ्य केन्द्रका चिकित्सकहरुका साथै नेपाल पूजा प्रतिष्ठानका सदस्यहरु गरी ७० जनाभन्दा बढी स्वयम् सेवक खटिएका थिए ।

दुर्गम भेगकै लागि लक्षित गरेर शिविरको आयोजना गरेको भएपनि शनिबार अचानक भएको भारी बर्षाको कारण जचाउन आउने विरामीहरु भने प्रभावित बनेको प्रतिष्ठानका अध्यक्ष भूपेन्द्रप्रसाद पौड्यालले जानकारी दिए ।

पौड्यालका अनुसार लक्षित विरामी ७ सय रहेका थियो । भारी बर्षा र सवारी साधनको अभावमा टाढाबाट आउने बिरामीहरु शिविरसम्म पुग्न सकेका थिएनन् ।

शिविरमा निशुल्क औषधी वितरणसमेत गरिएको थियो । शिविरमा भोलेन्टियर गर्ने स्वयम् सेवकहरुलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।

बिभिन्न सामाजिक कार्य गर्दै आएको प्रतिष्ठानको यो तेस्रो शिविर हो ।

यसअघि नुवाकोटको छहरे र सिन्धुपाल्चोकको मेलम्चीमा प्रतिष्ठानले शिविर संचालन गरिसकेको प्रतिष्ठानका महासचिव महेश्वर गौतमले जानकारी दिए ।