
काठमाडौं, फागुन २२ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यारोपण गरिएको मिर्गौलाले अपेक्षाकृत काम गरेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
अस्पतालले बिहीबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थीर रहेको र उनले बिहीबार तरल पदार्थ खाएको पनि बताएको छ ।
अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खड्काले प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।
प्रधानमन्त्री ओली अहिले सामान्य बोलचाल गर्नसक्ने अवस्थामा रहेको तर दुखाइ कम गर्ने औषधि दिएकाले कम बोल्न भनिएको पनि अस्पतालले जनाएको छ ।
संक्रमण हुने डरले चिकित्सक र स्वास्थ्यकर्मीबाहेक अरु कसैसँग पनि भेट्न दिइएको छैन ।
संक्रमणको खतरा अझैपनि बाँकी रहेकाले प्रधानमन्त्री ओलीलाई अझै एक साता अस्पतालमै राखेर उपचार गरिने छ ।
प्रधानमन्त्री ओलीलाई शिक्षण अस्पताल महाराजगञ्जको कलेजो प्रत्यारोपण युनिटको ‘आइसीयु’मा राखिएको छ ।
प्रत्यारोपणपछि डा. अनिल श्रेष्ठ, डा. सुवास आचार्यलगायतको समूहले उनको विशेष निगरानी गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीको यसअघि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलोपटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्