३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


५५० पशुलाई सुत्केरी भत्ता वितरण


0
Shares

सिन्धुली । कमलामाई नगरपालिकाले चालू आर्थिक वर्षदेखि हालसम्ममा ५५० सुत्केरी पशुलाई भत्ता वितरण गरेको छ ।

पोषण सुत्केरी खाद्यान्न सहयोग कार्यक्रमअन्तर्गत सुत्केरी गाई तथा भैँसीलाई भत्ता वितरण गरिएको हो ।

कमलामाईका १४ वटै वडामा सुत्केरी पशुलाई पोषण खाद्यान्न सहयोग उपलब्ध गराउन पशुधनीलाई रकम प्रदान गरिएको नगरपालिकाको पशु शाखाका पशुसेवा प्राविधिक मीनबहादुर थापाले जानकारी दिए ।

किसानले पशु सुत्केरी भत्ता प्राप्त गर्न पशुधनीले वडाबाट पशु सुत्केरी भएको हो भन्ने सिफारिस, सुत्केरी गाईले जन्माएको बाछाबाछी तथा भैँसीले जन्माएको पाडा वा पाडी र पशुधनी भएको एकप्रति फोटो, पशुको बीमा गराएको प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रतिलिपि र निवेदन पेश गर्नुपर्नेछ”, उनले भने ।

अघिल्लो वर्ष पशुपालन नगर्नेले पनि गाई तथा भैँसी सुत्केरी भएको भनी पैसा लगेको गुनासो आएको र यस वर्षदेखि वास्तविक पशुधनीलाई मात्र प्रोत्साहन रकम प्रदान गरिँदै आएको उनले बताए ।

हरेक पशुलाई सुत्केरी भत्ता र पोषण सुत्केरी खाद्यान्न सहयोगअन्तर्गत दुई हजारका दरले वितरण गरिँदै आएको छ ।

यस वर्ष पशु सुत्केरी भत्ता वितरणमा पशुको बीमा अनिवार्य गरेपछि पशु बीमा गराउने किसानको सङ्ख्या पनि बढ्दै गएको छ ।

उनका अनुसार एक आर्थिक वर्षमा पन्ध्र वटामात्र पशुको बीमा हुने गरेको थियो । यस आवमा नगर क्षेत्रका एक हजारभन्दा बढी पशुपालक किसानले पशुको बीमा गरिसकेका छन् ।

नेपाल सरकारको ७५ प्रतिशत अनुदान र २५ प्रतिशत किसानको लगानीमा पशुको बीमा गर्न सकिन्छ ।

पशुको क्षति भएमा बीमाङ्क रकमको ९० प्रतिशत रकम सम्बन्धित पशुधनीले क्षतिपूर्तिस्वरूप पाउने गरेको पशुसेवा प्राविधिक थापाले जानकारी दिए ।

यस्तै पशुको बीमा गराउने पशुधनीको पनि दुई लाख बराबरको दुर्घटना बीमा स्वतः हुने उहाँले जानकारी दिए ।

पशु बीमा गराउँदा सुत्केरी भत्ता पनि प्राप्त गराउने र केही गरी पशुको मृत्यु भएमा पूर्णरूपमा नोक्सानीसमेत व्यहोर्नुपर्ने अवस्थाबाट छुट्कारा पाउने भएकाले अहिले पशु बीमा गराउने पशुपालकको सङ्ख्या पनि बढ्दै गएको उनको भनाइ छ ।

विगतमा पशु बीमा गराउन समस्या रहेको भए पनि अहिले पशु बीमा गराउन समस्या नरहेको बताइएको छ । रासस