२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


ठेकेदारको लापरवाहीका कारण निर्माणाधीन पुल अलपत्र, म्याद नाघेको दुई वर्षसम्म बनेन


0
Shares

-दुर्गा उपाध्याय/ ईमेज 

कञ्चनपुर । ठेकेदार कम्पनीको लापरवाहीका कारण कञ्चनपुरको कृष्णपुरमा निर्माणाधीन पुल अलपत्र बनको छ ।

सम्झौता अवधि सकिए पनि सरकारी निकायको बेवास्ता र ठेकेदारको लापरवाहीका कारण पुल निर्माण नभएपछि स्थानीय आक्रोशित बनेका हुन् ।

तीनतिर नदी र उत्तरमा चुरेले घेरिएको कृष्णपुर नगरपालिका १ मा पर्ने दोमिल्ला भौगोलिक रुपमा विकट क्षेत्र मानिन्छ ।

स्वास्थ्य, शिक्षा, यातायातसँग जोडिन नसकेका यसक्षेत्रका बासिन्दा वर्षात्मा खोलामा बाढी आउदा आधारभूत आवश्यकताबाट बञ्चित हुनु परेको छ ।

समयमा पुल नबन्दा वर्षायाममा विद्यार्थीहरु निकै समस्यामा पर्ने गरेको कृष्णपुरका स्थानीय दिपक भण्डारीको भनाइ छ ।

सोही ठाँउमा पर्ने खारखोला र ओदाली खोलामा पुल नहुँदा वर्षेनी खोलाले बगाएर ज्यान गुमाउनुपर्ने यहाँको नियतीजस्तै भएको छ ।

दोमिल्लावासीले विगत लामो समयदेखि नै पुलको माग गर्दै आएकामा २०७३ सालमा पुल निर्माण त सुरु भयो ।

निर्माणका लागि थेगिम गाल्वा जेभी कैलालीसँग सम्झौता गरिएको थियो ।

तर सम्झौता अवधि सकिएको २ वर्ष पूरा भइसक्दा पनि अहिलेसम्म ६० प्रतिशत काम मात्र पूरा भएको छ ।

ठेकेदारको लापरवाहीसँगै सरकारी निकायको वेवास्ताका कारण पुलको निमार्ण कार्य अलपत्र परेको स्थानीय वीरबहादुर साउदको गुनासो छ ।

ठेकेदारसँग सरकारी निकायको मिलिमतोका कारण पुल निर्माणको काममा ढिलाई भएको स्थानीयवासीले आरोप लगाएका छन् ।

पुल निर्माणका लागि निर्माण कम्पनीले आगामी फागुनसम्मको म्याद माग गरेकाले खरिद ऐन अन्र्तगत म्याद थपको प्रक्रिया अगाडि बढाइएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख अर्जुन कुमार वम भने आगामी एक वर्षभित्र पुलको काम सम्पन्न नभए कारवाही गरिने दाबी गर्छन् ।

कञ्चनपुरमा थेगिम गाल्वा जे.भी कैलालीका तीनवटा पुलसँगै पाँच वटा योजना परेका छन् ।

खार र ओदाल खोलामा मात्रै नभइ अन्य योजनाको समेत म्याद नाघेको वर्षौ भइसकेको छ । 

सरकारले ठेक्का सम्झौता गर्दा विगतका योजनाहरुको कामलाई मूल्यांकन नगरेसम्म यस्तो कामचोर प्रवृत्ति रहिरहने देखिन्छ ।