Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


सामान्य माग राख्दा राजनीतिक भविष्य नै समाप्त पार्ने प्रयास भयो : कमल थापा


1k
Shares

काठमाडौं । राप्रपा, नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो राजनीतिक भविष्यनै समाप्त पार्ने प्रयास गरेको आरोप लगाउनुभएको छ ।

अध्यक्ष थापाले हामीले आर्दश मानेको राजसंस्थाले गुटलाई साथ दिएपछि त्यसमा पुनर्विचार गर्न पार्टी नेतृत्वसँग गरिएको आग्रहलाई बेवास्ता गरेर त्यसलाई रद्धीको टोकरीमा फाल्ने काम भएपछि नयाँ अभियानको सुरुवात गर्नुपरेको बताउनुभयो ।

‘हामीले सामान्य माग राखेका थियौं, एउटा वक्तव्य दिए पुग्थ्यो,’ उहाँले भन्नुभयो, ‘तर, त्यसलाई उपेक्षा गरेर हामीलाई राजनीतिक रूपमै समाप्त पार्ने प्रयास गरियो, यो अवस्थामा हामीले महाभारतको युद्धका बेलामा भगवान श्रीकृष्णले अर्जुनलाई दिनुभएको अर्तिउपदेशहरूको सम्झना गरिराखेका छौं ।’

शनिबार काठमाडौंका आयोजित पार्टीको औपचारिक घोषणासभामा बोल्दै उहाँले लिङ्देनले एकपक्षीय ढंगबाट पार्टी सञ्चालन गर्ने, आफूहरूलाई पाखा लगाउने र धकेलेर पर पु¥याउने परिस्थिति भएपछि निरीह, लाचार र अपमानित भएर बस्नुभन्दा राप्रपा नेपाललाई नै पुनर्जागृत गरेर जाने निर्णयमा पुग्नुपरेको तर्क गर्नुभयो ।

अध्यक्ष थापाले आफूसँग बहुमत पक्ष हुँदाहुँदै पनि राप्रपा विभाजन नगरेर अलग भएको पनि पटक–पटक दोहोर्‍याउनु भयो । उहाँले राप्रपा नेपाललाई छिट्टै राष्ट्रवादी राजनीतिक शक्तिको रूपमा स्थापित गराउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष थापाले राप्रपा नेपाललाई नेतृत्व दिँदै आएका तत्कालिन अध्यक्ष लाक्पा तामाङप्रति आभार व्यक्त गर्दै अब आफूले कहिल्यै धोका नदिने पनि बताउनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री राजीव पराजुलीसहितका नेताहरूले कमल थापाको नेतृत्वमा राप्रपा नेपाल मुलुकको भरपर्दाे राजनीतिक शक्तिको रुपमा स्थापित हुने विश्वास व्यक्त गरेका थिए ।