‘ए’ डिभिजन लिग : एपीएफसँग मनाङ पराजित, एनआरटीले संकटालाई हरायो « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


‘ए’ डिभिजन लिग : एपीएफसँग मनाङ पराजित, एनआरटीले संकटालाई हरायो


182
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लब एपीएफसँग पराजित भएको छ ।

बिहीबार भएको खेलमा मनाङ विभागीय टोली एपीएफसँग ३–१ गोल अन्तरले पराजित भएको हो । एपीएफलाई जित दिलाउन आशिष लामा, मनि कुमार लामा र नविन लामाले एक–एक गोल गरे मनाङका अन्जन विष्टले एक गोल फर्काए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुवाती एक गोलको अग्रता उल्टाएर एपीएफले जित निकालेको हो । यो जितसँगै एपीएफलाई रेलिगेसनको डर सकिएको छ । एपीएफले ११ खेलमा १४ अंक जोडेको छ ।

एपीएफ आठौं स्थानमा उक्लिएको छ । मनाङले ११ खेलमा २० अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा कायम रहेको छ ।

यसअघि बिहीबारै भएको अर्को खेलमा न्यूरोड टिम (एनआरटी)ले संकटा क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एनआरटीले संकटालाई १–० ले हराएको हो ।

एनआरटीको जितमा स्टेफन समिर विनोङले गोल गरे । जारी लिगमा एनआरटीको यो चौथो जित हो । संकटाको भने यो दोस्रो हार हो ।

जितसँगै सातौं स्थानमा रहेको एनआरटी पाँचौ स्थानमा उक्लिएको छ । एनआरटीले ११ खेलमा १७ अंक जोडेको छ । पराजित संकटा ११ खेलबाट १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।