
काठमाडौं, फागुन १० । काल्सबर्ग गल्फ सिरिजअन्तर्गतको पहिलो प्रतियोगिता टासी डोङले जितेका छन् ।
गोकर्ण गल्फ क्लबमा शनिबार स्टेबल फोर्ड थ्री बाइ फोर ह्यान्डीक्याप फर्माय्टमा भएको प्रतिस्पर्धामा ४४ अंकको शानदार नतिजासहित टासीले उपाधि जितेका हुन् ।
यसक्रममा दुई ह्यान्डीक्यापका टासीले एक बोगीकाविरूद्ध सात बर्डीको सफलता प्राप्त गरेका थिए ।
३६ अंक बनाएका दाबा जे शर्पाले दोस्रो स्थान हात पारे ।
ग्रसतर्फ भने उत्कृष्ट प्रदर्शनका साथ एक इगलसहित छ बर्डी प्रहार गरेका टासी छिरिङले पहिलो स्थान हात पारे भने माधव सिमखडा दोस्रो भए ।
यसैगरी, महिलातर्फ आरती राणाले पहिलो स्थान हात पारिन् भने देवश्री राणा दोस्रो भइन् । खेलमा आरती र देवश्रीले समान २९ अंक हासिल गरेपनि काउन्ट ब्याकमा आरतीले बाजी मारिन् ।
यसैगरी, सिनियरमा ३६ अंकसहित तेज राई पहिलो हुँदा दिलिप रायमाझी दोस्रो भएका छन् ।
प्रतियोगितामा क्लोजेष्ट टु द पीनको उपाधि केसी गुरुङले हात पारिन् भने लङगेस्ट ड्राइभको उपाधि निरब कोइरालाले हात पारे ।
यस्तै, मोस्ट बर्डिजको उपाधि भने टासी छिरिङले हात पारे ।
गल्फ सिरिजको एक सिजनमा तीनओटा प्रतियोगिता हुनेछन् । तीन प्रतियोगितापश्चात् नेटतर्फ दश र ग्रसतर्फको पाँच उत्कृष्ट खेलाडीलाई प्रत्येक प्रतियोगितामा अंक दिइनेछ । सोही अंकको आधारमा प्रतियोगिताको विजेता चयन गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्