खप्तडमा हिउ खेल्ने पर्यटकको घुइँचो « Imagekhabar – Online News Portal of Nepal


खप्तडमा हिउ खेल्ने पर्यटकको घुइँचो


156
Shares

काठमाडौं, माघ ८ । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा पुनः हिमपात भएपछि अहिले आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।

जिल्लामा कोरोना जोखिम कायमै रहे पनि खप्तडमा हिउँसँग रमाउनका लागि अहिले यहाँ दैनिक आन्तरिक पर्यटक भित्रिन थालेका छन् ।

हिमपातका कारण खप्तड क्षेत्र निकै रमणीय बनेको पर्यटकहरु बताउँछन् । हिमपातपछि यहाँका डाँडाकाँडा निकै रमणीय तथा सेताम्मे भएका छन् । गएको पुस १४ गते पहिलोपटक हिमपात भएको खप्तड क्षेत्रमा माघ ५ गते रातिबाट पुनः हिमपात भएको हो ।

हिमपातपछि यहाँ रमाइलो गर्नका लागि दैनिक १२ देखि १५ जनासम्म आन्तरिक पर्यटक घुम्न र रमाइलो गर्न आउने गरेको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय झिग्रानाले जनाएको छ ।
हिमपात रोकिएको र दिउँसोको समयमा टलक्क घाम लाग्ने भएकाले पनि यहाँ पर्यटक आउने क्रम बढ्दै गएको झिग्रानाका स्थानीयवासी बताउँछन् ।

गएको वैशाखदेखि हालसम्म खप्तड क्षेत्रमा चार हजारभन्दा बढी पर्यटक आवलोकन भ्रमणका लागि आएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय झिग्रानाले जनाएको छ । यसअघि परेको हिउँ पग्लिन नपाउँदै पुनः हिमपात सुरु भएपछि स्थानीयवासीहरु खेती सप्रिने भन्दै खुसी भएका छन् ।