Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


पाकिस्तानमा हिमपहिरोमा परी नेपाली पर्वतारोही निर्मलसहित १० सदस्यीय टोली बेपत्ता


13
Shares

काठमाडौं । पाकिस्तानको ब्रोड पिकको हिमपहिरोमा परी नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० सदस्यीय पर्वतारोहण टोली बेपत्ता भएको छ ।

पाकिस्तानको कराकोरम पर्वतशृंखलामा रहेको ८ हजार ४७ मिटर अग्लो उक्त हिमालमा बिहीबार मध्याह्न हिमपहिरो गएको थियो । त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानी पर्वतारोहण अधिकारीहरूले बताएका बीबीसीले जनाएको छ ।आरोहण टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र पाँच नेपाली नागरिक रहेको बताइएको हाे ।

अभियानको नेतृत्व गरिरहेका निर्मल सन् २०१९ मा ६ महिनाभन्दा केही बढी अवधिमा विश्वका आठ हजार मिटर भन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण गरेर विश्वव्यापी रूपमा चर्चित बनेका थिए । मौसम अनुकूल भएमा खोज तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा हेलिकोप्टरमार्फत खोजी अभियान सञ्चालन गर्ने सामाचारमा उल्लेख छ ।

ब्रोड पिक पदयात्रा तथा पर्वतारोहणका लागि विश्वकै सबै भन्दा चुनौतीपूर्ण हिमालहरूमध्ये एक मानिन्छ । यो हिमाल विश्वको १२औँ अग्लो हिमालको रूपमा सूचीकृत छ । अल्पाइन क्लब अफ पाकिस्तानले एक विज्ञप्ति जारी गर्दै तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गर्न सरकारी निकायहरूसँग निरन्तर समन्वय भइरहेको जनाएको हाे।

क्लबले हेलिकोप्टरको सहयोग सुनिश्चित गर्न प्रयासहरू भइरहेको र उपलब्ध सबै साधनस्रोतहरू तत्काल परिचालन गरिएको जनाएकाे छ ।