Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


एक वर्षमा १२ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिए


13
Shares

काठमाडाैं ।  गत आर्थिक वर्ष २०८२/८३ मा १२ लाख भन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार एक वर्षमा १२ लाख ९ हजार ३ सय ५७ जना विदेशी पर्यटक हवाइ मार्गबाट नेपाल भित्रिएका हुन् । यो संख्या गत आर्थिक वर्षको भन्दा ७ दशमलव २१ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८१/८२ मा ११ लाख २८ हजार जना पर्यटन हवाइ मार्गबाट नेपाल आएका थिए ।

गत आर्थिक वर्ष नेपाल आउने पर्यटकमध्ये २५ दशमलव ७६ प्रतिशत अर्थात तीन लाख ११ हजार ५ सय ३१ जना भारतीय नागरिक हुन् । भारतपछि अमेरिकाबाट एक लाख ११ हजार ३ सय २५ र चीनबाट एक लाख ९ हजार ८ सय ९२ जना पर्यटक नेपाल आएका छन् । बोर्डको तथ्यांक अनुसार पर्यटकीय सिजन मानिने कात्तिकमा सबै भन्दा बढी एक लाख २४ हजार ८ सय २९ जना पर्यटक नेपाल आएका हुन् । त्यस्तै, चैतमा एक लाख १९ हजार, फागुनमा एक लाख १४ हजार र असोजमा एक लाख ११ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका थिए ।

सरकारले सन् २०२७ लाई ‘आरोग्य पर्यटन वर्ष’ का रूपमा मनाउने घोषणा गरेर तयारी समेत अघि बढाएको कारण आउँदो चालु वर्ष पर्यटक संख्या बढ्ने अपेक्षा गरिएकाे छ । बोर्डले जारी विज्ञप्तिमा अबको रणनीति बढी खर्च गर्ने पर्यटक भित्र्याउने, उनीहरूको बसाइ अवधि लम्ब्याउने र नयाँ अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्‍याउनेतर्फ केन्द्रित हुने जनाएको हाे ।