सातौं राष्ट्रिय योग दिवस मनाइँदै « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Thu Oct 6 2022


सातौं राष्ट्रिय योग दिवस मनाइँदै


78
Shares

काठमाडौं । सातौं राष्ट्रिय योग दिवस आज देशभर भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको योग दिवसको नारा ‘सर्वाङ्गीण विकासका लागि योग’ तय गरेको छ ।

नयाँ भेरियन्टसहितको कोरोना संक्रमण बढ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस भर्चुअल माध्यमबाट गर्न निर्देशन गरेको हो ।

मन्त्रिपरिषद्को २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो ।

योगको नियमित अभ्यास गर्नेमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने भएकाले कोरोनाबाट बच्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

तत्कालीन शान्ति तथा पुनःनिर्माणमन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो । यसअघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।

व्यक्तिभित्रको सम्भावना उजागर गर्न सहयोग पुर्‍याउने साधनाका रूपमा योगलाई आत्मसात गर्न जागरण फैलाउने उद्देश्यले योग दिवस मनाउन थालिएको हो ।

वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम सुरु भएको हो । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो ।