
दीपक श्रेष्ठ/जयराम बास्तोला (इमेज)
भक्तपुर, साउन २१ । काठमाडौंको काँडाघारी बस्ने ११ वर्षीय निशान खड्काको अपहरण गरेर हत्या गर्ने दुईजना अपहरणकारी प्रहरीको ‘इन्काउन्टर’मा मारिएका छन् ।
बालकको हत्या गरेर भक्तपुरको डोलेश्वर जंगलमा लुकेका अपहरणकारीहरुको पिछा गर्दै गएको प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले जवाफी कारबाही गर्दा उनीहरु मारिएका हुन् ।
सिन्धुपाल्चोकका २३ वर्षका अजय तामाङ र नुवाकोटका २२ वर्षका गोपाल तामाङ काँडाघारीमा रहेको निशानकी आमाको खाजा पसलमा दिनहुँ चिया–नास्ता गर्न जाने गर्दथे ।
आइतबार पनि गोपाल दिउँसैदेखि निशानको पसलमा बसिरहेका थिए ।
निशान स्कुलबाट आएपछि गोपाल तामाङले निशानलाई लिएर मोबाइल किन्न जाने भन्दै लिएर गएका थिए । तर, उनै चिनजानका व्यक्तिहरुले निशानलाई अपहरण गरेर हत्यासमेत गरे ।
निशानको अपहरण गरेका उनीहरुले आइतबारै राति ४० लाख रुपैयाँ माग्दै फोन गरेका थिए भने पैसाको लेनदेन छिनोफानो नहुँदै राति नै निशानको हत्या गरे ।
बालकको हत्या गरेर जंगलतिर भागेका अपहरणकारी पनि बाँच्न भने पाएनन् ।
भक्तपुरको डोलेश्वर जंगलमा सोमबार दिउँसो प्रहरीको इन्काउन्टरमा उनीहरु मारिए ।
उनीहरुको साथबाट पेस्तोल, पेस्तोलको गोली र फिरौती माग्न प्रयोग गरिएको मोबाइल प्रहरीले बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस्