२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


‘फोरजी’ सेवा ७७ ओटै जिल्लामा विस्तार हुनु सन्तोषजनक : सञ्चारमन्त्री


0
Shares

काठमाडौं, माघ २२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमले पूर्वयोजनाबमोजिम नै ठूला आयोजना कार्यान्वयनमा प्राथमिकता दिएको तथा एक वर्षको अवधिमा ‘फोरजी’ मोबाइल सेवा ७७ ओटै जिल्लामा विस्तार गरेकोमा सन्तोष व्यक्त गरेका छन् ।

नेपाल टेलिकम स्थापनाको १६औं वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित  कार्यक्रममा उनले ‘एफटीटीएच’ प्रविधिको विस्तार र अप्टिकल फाइबर परियोजना निर्धारित् अवधिमै सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

कम्पनीले प्रदान गरेका सेवाहरुमा गुणस्तर कायम गरी सेवाग्राहीको सन्तुष्टिलाई प्राथमिकताको विषय बनाउन पनि उनले व्यवस्थापनको ध्यानाकर्षण गराए ।

सन्चारमन्त्री बाँस्कोटाले नेपाल टेलिकमका केही कर्मचारीले जारी राखेको आन्दोलनरप्रति भने असन्तुष्टि जनाए ।

कम्पनी आमा भएको भन्दै उनले ‘यस्तो बेलामा आन्दोलन गर्नु भनेको आमाको जन्मदिनमा पनि खुसी नभएजस्तो हो’ भन्दै कम्पनीलाई माया गर्न सुझाए ।

मन्त्रालयका सचिव तथा कम्पनीका सञ्चालक समितिका अध्यक्ष दीपक सुवेदीले टेलिकमले अब समयानुकूल विभिन्न ‘स्मार्ट’ सेवाहरु ल्याउनुपर्नेमा जोड दिए ।

अत्याधुनिक प्रविधिका सेवाहरु गुणस्तरसहित प्रदान गरी ग्राहकको मन जित्न पनि आवश्यक रहेको उनले बताए ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीको समग्र अवस्थाबारेमा जानकारी गराउँदै सम्झौता भएको एक वर्षभित्रै देशभर फोरजी विस्तार गर्ने महत्वाकांक्षी र चुनौतीपूर्ण लक्ष्यअनुरुप यसै साता देशका ७७ ओटै जिल्लामा फोरजीको पहुँच पुर्‍याइएको बताए ।

उनले स्थानीय टेलिफोन सेवाको रुपान्तरणको लागि एफटीटीएच परियोजनालाई अगाडि बढाइएको र निकट भविष्यमा ‘आइपीटीभी’ सेवासमेत एफटीटीएचमार्फत् प्रदान गरिने बताए ।