२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रसारण मिडियाका लोकप्रिय व्यक्तित्व


0
Shares

काठमाडौं, माघ २२ । दुर्गानाथ शर्मा नेपालको प्रसारण मिडियाका लोकप्रिय व्यक्तित्व थिए ।

विषयगत् ज्ञान, ओजपूर्ण आवाज र रोचक प्रस्तुतिका कारण शर्मा प्रसारण क्षेत्रमा उदाहरणीय थिए ।

नेपाल टेलिभिजनको निकै लोकप्रिय कार्यक्रम ‘विश्व घटना’का प्रस्तोता दुर्गानाथ शर्माले गोरखापत्र दैनिकबाट पत्रकारिताको सुरुआत गरेका थिए ।

गोरखापत्रमा संवाददाताको रुपमा प्रवेश गरी सहायक सम्पादकको जिम्मेवारीसमेत सम्हालेका शर्माको चर्चा भने टेलिभिजन प्रस्तोताको रुपमा स्थापित भयो ।

२०४१ सालमा नेपाल टेलिभिजनको प्रशारणसँगै नेपाल टेलिभिजनमा आवद्ध भएका शर्मा त्यसअघि रेडियो नेपालमा समाचारवाचक थिए ।

२००४ साल जेठ १४ गते इलामको फिक्कलमा उनको जन्म भएको थियो ।

ओजिलो आवाज, स्पष्ट उच्चारण र समाचारको भाव अनुहार र आवाजमा झल्काउन सक्ने खुबी उनमा थियो ।

लामो समयसम्म रेडियो नेपालमा र नेपाल टेलिभिजनमा समाचारवाचकको रुपमासमेत रहेका शर्मा स्पष्ट र सुमुधर बोलीका कारण सञ्चारजगतमा निकै नै लोकप्रिय र चर्चित छन् ।

त्यसैले त उनी समाचारवाचकहरुलाई भन्ने गर्थे, ‘जस्तो समाचार छ, त्यसैअनुरुप अनुहारमा भाव ल्याउन सक्नुपर्छ ।’

सञ्चारकर्मीको रुपमा ख्याति कमाएका शर्मा लेखकसमेत थिए । उनका ‘बिनाराहदानीको विदेश यात्रा’, ‘बरसा’, आमसञ्चारमा म’, ‘हेन्डबुक अन ब्रोडकास्टिङ जर्नालिज्म’, ‘छाल’लगायतका थुप्रै पुस्तकहरू प्रकाशित छन् ।

विभिन्न पत्रपत्रिकामासमेत उनका थुप्रै लेखहरु प्रकाशित छन् ।

विभिन्न क्षेत्रबाट सयौं पुरस्कारसमेत प्राप्त गरेका शर्माको योगदानको कदर गर्दै ईमेज च्यानलले पनि वरिष्ठ पत्रकारको रुपमा उनलाई सम्मानसमेत गरेको थियो ।