कक्षा १० मा अध्ययनरत चार विद्यार्थीले पत्रु सामग्रीबाट बनाए विद्युतीय कार « Image Khabar


कक्षा १० मा अध्ययनरत चार विद्यार्थीले पत्रु सामग्रीबाट बनाए विद्युतीय कार


1.027k
Shares

कैलाली । कैलालीको धनगढीस्थित एक्सिस विद्याश्रममा अध्ययनरत विद्यार्थीले विद्युतिय कार निर्माण गरेर कुदाएका छन् । कक्षा १० मा पढ्ने चार विद्यार्थीले पत्रु सामग्री (कवाडी सामान) बाट विद्युतीय कार बनाएका हुन् ।

कवाडी सामान जम्मा गरेर कार बनाए भन्दा हो की हैन, पत्याउन गाह्रो पर्छ । तर, यस्तै काम नलाग्ने कवाडी सामान जम्मा गरेर चारजना विद्यार्थीले बनाएको कार यसरी सररर…कुद्न थालेको छ । सार नाम दिएर लामो समय अनुसंधानमा रहेका चार जनाको समूहमा रहेका उनीहरुले निर्माण गरेको विद्युतीय कारलाई अल्फा नाम दिईएको छ ।

ऋषिकेश थापा, रोहित ऐर, आदित्य जोशी र सक्षम रेग्मीको टोलीले संयुक्त रुपमा कार निर्माण गरेका हुन् । लामो लकडाउनको फुर्सदिलो समयमा उनीहरुले कवाडी संकलन गरेर चार महिनामा कार निर्माण गरेको विद्यार्थी ऋषिकेश थापाले जानकारी दिनभयो ।

विद्युतीय कार निर्माणका लागि चाहिने कतिपय सामग्री कवाडखानामा गएर किनेर ल्याएको र अन्य सामग्री आफैं निर्माण गरेको थापाको भनाई छ । कारलाई आवश्यक पर्ने गियर पनि चैन स्पोकेटको प्रयोग गरेर बनाएको बताउँदै सक्कली गियर किन्दा ५० देखि ६० हजार रुपैयाँ पर्ने भएकाले आफैंले ४ हजार रुपैयाँमा बनाएको उहाँको भनाई छ ।

सबैतिर बन्द भएको समयमा त्यसै समय खर्चनु भन्दा चार जना साथीहरुको छलफलपछि कार बनाउने सोचमा पुगेको अर्का विद्यार्थी सक्षम रेग्मीको भनाई छ । गाडीका खेर गएका पार्टपुर्जा प्रयोग गरेर कार निर्माण गरीएको हो । घरपरिवार र विद्यालयको सहयोगबाट आफूहरूले गाडी निर्माण गरेको उनीहरूको भनाइ छ ।

अहिले चारजना मिलेर बनाएको यो कार नमुनाका रुपमा राखिएको छ । राज्यबाट सहयोग भएमा यो भन्दा अझै स्तरीय बनाउन सकिने उनीहरुको विश्वास छ । उनीहरुले निर्माण गरेको कारमा चालकसहित पाँच जना बोक्न सक्ने क्षमता छ भने कारले अहिलेकै अवस्थामा ८ क्विन्टल सामान बोक्न सक्ने र ब्याट्री बढाउन सकेमा बढी भार बोक्न सक्ने बताईएको छ ।

त्यसैले राज्यले पनि यस्ता युवाहरुको काम र मेहनतलाई प्रोत्साहन गर्दे उनीहरुको क्षमता बिकाश गर्न सके नेपाली युवाहरुले पनि केहि गर्न सक्ने थिए ।