Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


गाउँमा भन्दा शहरका बालबालिकामा आँखाको समस्या बढ्दै


182
Shares

झापा । शहरी क्षेत्रका बालबालिकामा आँखाको समस्या बढ्दै गएको छ । आँखा परीक्षणको क्रममा गाउँका भन्दा शहरी क्षेत्रका बालबालिकामा मायोपियाको समस्या बढी देखिएको पाइएको हो ।

गाउँका बालबालिकामा मायोपियाको समस्या दुई प्रतिशत देखिँदा सहरका बालबालिकामा १० प्रतिशतमा देखिएको मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर पुरुषोत्तम जोशीले बताउनुभयो ।

पूर्बी नेपालको झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई कार्यक्षेत्र बनाएर अन्राष्ट्रिय स्तरमा आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको मेची आँखा अस्पताल बिर्तामोडले झापाका दुई लाख भन्दा बढी बिद्यार्थीको निःशुल्क आँखा परिक्षण गर्दा बालबालिकामा आँखाको समस्या देखिएको अस्पतालले जनाएको छ ।

सन् २०१८ देखि मेचि आँखा अस्पतालले अर्बिस अन्तराष्ट्रिय संस्थाको साझेदारी र नेपाल नेत्र ज्योति संघको सहकार्यमा रिच प्रोजेक्ट मार्फत झापाका १५ बटै पालिकामा रहेका विद्यार्थीको निःशुल्क आँखाको परिक्षण शुरु गरेको थियो ।

अस्पतालले ६ देखि १८ वर्ष उमेर समूहका बालबालिकाहरु अध्ययनरत् बिद्यालयमा पुगेर आँखा परिक्षण गरेको थियो । अदुर दृष्टिका समस्या भएका विद्यार्थीको संख्या धेरै भएकाले निःशुल्क शल्यक्रियासमेत गरीएको थियो ।

आँखा जाँच गरिएका बालबालिका मध्ये हालसम्म ६ हजार दुई सय ९५ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो भने ४ हजार ७ सय ६५ जना विद्यार्थीको मेची आँखा अस्पतालमा ल्याएर निःशुल्क आँखाको उपचार गरिएको अस्पतालका प्रशासन प्रमुख सुरज रौनियारले जानकारी दिनुभयो ।

झट्ट सम्झदा गाउँले परिवेसमा हुर्किएका बालबालिकाको आँखा कमजोर होला भन्ने लागेपनि अस्पतालले प्रदान गरेको सेवालाई आधार मान्दा परिणाम उल्टो देखिएको छ । शहर केन्द्रीत विद्यालयमा अध्ययरत विद्यार्थी मुख्यतः पढाइमा केन्द्रीत हुनु, टिभी मोवाइल लगायतका विद्युतीय डिभाइसको बढ्दो प्रयोग गर्नु, घर बाहिर खेल्लु पर्ने खेलको सट्टा घर भित्रै रहनुले पनि शहर केन्द्रीत विद्यार्थीमा अदुरदृष्टिको समस्या धेरै देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

अतः बालबालिकाको आँखा स्वास्थ्य राख्न घर बाहिर बच्चालाई खेल्नु दिनु पर्ने, आँखालाई असर पर्ने गरी कुनै पनि काम गर्न नहुने बिज्ञको सुझाव छ । यसो गर्न सके मात्र बालबालिकामा देखिने मायोपियाको समस्या हटेर जाने र आँखा डेढो हुने समस्या नदेखिने बताइन्छ ।