२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


वडा सदस्यलगायतको टोलीले वडा अध्यक्ष कुटे, ६ पक्राउ


0
Shares

सिन्धुपाल्चोक । जुगल गाउँपालिका ५ का वडा अध्यक्षमाथि कुटपिट भएको छ । जुगल ५ का वडाध्यक्ष सनत अधिकारीमाथि वडा सदस्य येन्द्र बहादुर लामाको समूहले कुटपिट गरेको हो ।

आफ्नै वडामा रहेको रत्नराज्य लक्ष्मी विद्यालयको सोमबार भएको वार्षिकोउत्सव समारोह सकेर प्रधानध्यापक छन्द प्रसाद काफ्ले, अध्यक्ष अधिकारी र शिक्षक पुष्पराज तिमल्सिनालाई खाजा खाइरहेका अवस्थामा वडा सदस्य मगरको समूहले कुटपिट गरी गम्भीर घाइते बनाएको छ ।

कार्यक्रम सकेर विद्यालयकै क्यान्टिनमा विद्यालयका सरहरुसँग खाजा खाइरहेका बेला वर्ष १९ का सुसन आले मगर लगायत छ जना टोली आई ‘किन हो हो हल्ला गरेको’ भनी फोटो खिच्न लाग्दा वादविवाद भइ झगडा भएको प्रहरीले उल्लेख गरेको छ ।

तर स्थानीयले भने विद्यालय गेटमा प्रहार भएको आवाज सुनेपछि को हो भनेर सोध्दा वडा सदस्य मगरको समूह भित्र आएर ‘त नेता भएर फुर्ति लाउने’ भन्दै शिक्षकहरु र अध्यक्षमाथि रडले प्रहार गरेको बताएका छन् ।

कुटपिटबाट आँखा, टाउको, ढाडमा गहिरो चोट लागेका अधिकारीलाई गएराति नै उपचारका लागि अस्पताल पुर्याइएको छ । उनलाई भक्तपुरको मध्यपुर हस्पिटलमा राखिएको छ । कुटपिटमा संलग्न ६ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ भने वडा सदस्य मगर फरार छन् ।

पक्राउ पर्नेमा रत्न बहादुर मगर, समुन्द्र श्रेष्ठ, कमल थापामगर, सुरेश आले मगर , सुसन आले मगर र सुवास बुढाथोकी छन् ।

वडा सदस्य मगर अध्यक्ष अधिकारीकै वडाबाट पुर्वमाओवादीबाट जितेका वडा सदस्य हुन् । प्रहरीले वडासदस्य येन्द्र बहादुर मगरविरुद्ध किटानी जाहेरी नपरेको भन्दै उनीलाई पक्राउ नगरेको बताएको छ ।