
रसुवार/इलाम । रसुवाको उच्च हिमाली भेग सहित धेरै स्थानमा आज बिहान बाट हिमपात भएको छ । हिमपात भएसँगै बढेको चिसोपनले उत्तरी रसुवाको जनजीवन प्रभावित भएको छ ।
गोसाइँकुण्ड, चन्दनवारी, ठूलोस्याफ्रुको गर्दागाङ, लाङ्टाङ, नाकथली तातोपानी गत्लाङ,तथा सदरमुकाम धुन्चे समेतमा हिमपात भएको छ । राम्चे, स्याउवारी, उत्तरगया गाँउपालिकाको तिरू एवं नौकुण्ड गाँउपालिकाको यार्सा, घाङमर, दोक्लाङमा समेत हिमपात हुँदा त्यस क्षेत्रको जनजीबन भने प्रभावित भएको छ ।
यस सँगै मानव वस्तिको जनजीवन निकै प्रभावित बनाएको छ । खेतियोग्य जमिनमा हिउँ पर्दा यस वर्ष गहुँ, तोरी र आलुजस्ता हिउँदे बालीलाई भने राम्रो भएको कृषकले बताएका छन् । हिमपातले जाडो बढे सँगैे बालबालिका, वृद्धवृद्धा र पशु चौपाया बढी प्रभावित भएको स्थानीयवासीले बताएका छन भने हिमपातका समयमा सर्बसाधारणलाई बाहिर ननिस्कन र घर भित्रै आगोबाली तातोमा रहन जिल्ला प्रशासन कार्यालय रसुवाले सबैमा अनुरोध गरेको छ ।
त्यस्तै, इलाम जिल्लाको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगात स्थानमा मंगलबार बेलुकीदेखि हिमपात भएको हो । जिल्लाको सन्दकपुर गाउँपालिकाको सन्दकपुर, जौबारी र कालपोखरी र गैरीबास इलाम नगरपालिकाको पाटेनागीलगायत स्थानमा वर्षासहित हिमपात भएको छ ।
हिउँ परेपछि सदरमुकामलगायत वरपरका बासिन्दा हिउँमा खेल्न गएका छन् । हिमपातका कारण चिसो बढेकाले जिल्लाका उच्च पहाडी क्षेत्रको जनजीवन कष्टकर भएको छ । सदरमुकामलगायतका ठाउँमा पनि चिसो बढेको छ । हिउँ परेको क्षेत्रमा गाईबस्तुलाई घाँस खुवाउन र बाहिरको काम गर्न समस्या भएको स्थानियहरुको भनाई छ । हिउँ परेपछि हिउँमा खेल्न पर्यटकहरुको आकर्षण बढेको छ ।
प्रतिक्रिया दिनुहोस्