काठमाडाैं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले कृषि अनुसन्धानको प्रभावकारिता बढाउन संगठनको संरचनागत पुनर्संरचना गर्ने भएको छ।
सिंहदरबारमा साेमबार बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा नार्कका कायममुकायम कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठले यस्ताे बताउनुभएकाे हाे। अनुसन्धान केन्द्रहरूको मर्जर र प्रविधिमैत्री प्रणालीमार्फत कार्यक्षमता अभिवृद्धि गर्ने योजना अघि सार्नुभएकाे छ। नेपालको कृषि प्रणालीलाई आत्मनिर्भर र निर्यातमुखी बनाउन अनुसन्धानको ढाँचामा व्यापक परिवर्तन गर्नुपर्ने आवश्यकता रहेकाे बताउनुभयाे।
कायममुकायम कार्यकारी निर्देशक श्रेष्ठले बालीको जात विकास गर्न हाल लाग्दै आएको १२ वर्षको समयलाई घटाएर ५–६ वर्षमा झार्न ‘स्पीड ब्रिडिङ सेन्टर’ स्थापना गर्ने तयारी भइरहेको बताउनुभएकाे छ। नार्कले आफ्नो कार्यदक्षता बढाउन र खर्च कटौती गर्न अनावश्यक संरचनाहरू हटाउने वा गाभ्ने नीति लिएको हाे । जस अन्तर्गत नार्गे र नार्सेलाई मर्जर गर्ने, जुम्लाका चार वटा केन्द्रलाई एकीकृत बनाउने तथा पंक्षी र मत्स्य अनुसन्धानका केही केन्द्रहरूलाई सुदृढीकरण गर्दै अन्य कतिपय व्यावसायिक बाली अनुसन्धान केन्द्रहरू खारेज गर्ने योजना छ ।
यस्तो पुनर्संरचनाबाट डुप्लिकेसन हट्ने र अनुसन्धानमा पारदर्शिता आउने विश्वास परिषद्को छ । नार्कले पहिलो पटक देशभरिको अनुसन्धान योजनालाई डिजिटलाइज गरेको हाे । गाउँ तहदेखि राष्ट्रिय स्तरसम्मका सरोकारवालाहरू–निजी क्षेत्र, विश्वविद्यालय, किसान र उद्यमीहरूलाई एकै थलोमा ल्याएर अनुसन्धानको खाका तयार पारिएको कायममुकायम कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभएकाे छ।
पहाडी क्षेत्रको बाँझो जमिन उपयोग गर्दै तराईतर्फको बसाइँसराइ रोक्ने, जलवायु अनुकूलित प्रविधि विकास गर्ने र दूध, माछा तथा प्रोटिनजन्य उत्पादनमा आत्मनिर्भर हुने गरी कृषि अनुसन्धानलाई अघि बढाउने लक्ष्य राखिएको हाे । प्रविधि हस्तान्तरणका लागि स्थानीय तहसँगको समन्वयलाई थप सुदृढ बनाइने परिषद्ले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्