गठबन्धन सरकारले संविधानको रक्षा गरेको छ : मन्त्री कार्की « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


गठबन्धन सरकारले संविधानको रक्षा गरेको छ : मन्त्री कार्की

‘अधिनायकवाद ल्याउने ओलीको प्रयत्न विफल पार्दै संविधान र प्रणालीको रक्षा गर्न सफल भयौं’

65
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान गठबन्धनको सरकारले संविधानको रक्षा गरेको बताउनुभएको छ ।

सोमबार नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालले अघिल्लो वर्ष प्रतिनिधिसभा विघटन भएको पुष ५ गतेको दिनलाई कालो दिनको रूपमा स्मरण गर्दै आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कार्कीले वर्तमान गठबन्धनको सरकारले संविधानको रक्षा गरेको बताउनुभएको हो ।

राज्य संयन्त्रलाई कब्जा गरेर अधिनायकवाद ल्याउने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयत्नलाई विफल पार्दै मुलुकको संविधान र राजनीतिक प्रणालीको रक्षा गरेको उहाँले बताउनुभयो । वर्तमान सरकार विधिको शासन, दिगो सुशासन, लोकतान्त्रिक अधिकार र अर्थिक विकासको बाटोमा अघि बढेको उहाँले बताउनुभयो ।

मन्त्री कार्कीले आन्तरिक एकतालाई सुदृढ गर्दै देशलाई समुद्धिको दिशातर्फ अगाडी बढाउनुपर्ने बताउनुभयो । संविधानलाई समयानुकुल परिवर्तन गर्दै देशको राष्ट्रियता र सार्वभौमिकतालाई सुदृढ बनाउँदै नेपालीलाई सम्पन्न बनाउने दिशामा अघि बढ्न विलम्व गर्नु नहुने उहाँको भनाई छ ।

उहाँले देशलाई समृद्ध बनाउनको निम्ति सबैको इमान्दार र सार्थक प्रयत्न हुनुपर्नेमा जोड दिनुभयो ।