काठमाडौं, मंसिर २३ । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले तीन खेल पोखरा रंगशालामा खेल्ने भएको छ ।
पोखरा रंगशालालाई घरेलु मैदान बनाउने निर्णय गरेको मनाङले यस सिजन तीन खेल मात्र पोखरामा खेल्ने टुङ्गो लागेको हो । सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालित लिगमा बढीमा ६ खेल होम ग्राउण्डमा दिने तयारी थियो ।
तर, तीन क्लबले मात्र मनाङको प्रस्ताव स्विकार गरेपछि मनाङले तीन खेल पोखरा रंगशालामा खेल्ने पक्का भएको हो । एन्फाका अनुसार मनाङले पोखरा रंगशालामा विभागीय टिम पुलिस सहित ब्रिगेड ब्वाईज र च्यासल युथ क्लबसँग खेल्नेछ ।
ए डिभिजन लिगलाई काठमाडौं बाहिर लैजान एन्फाले प्रोत्साहन गर्दै आएको छ । पोखरामा हुने खेलको रेफ्री र अर्को क्लबको सबै खर्च मनाङले नै बेहोर्ने बताइएको छ । टिकट बिक्रीबाट संकलन रकम भने मनाङको हुनेछ ।
मनाङले पोखरा रंगशालालाई होम ग्राउन्डका रुपमा प्रयोग गर्दैछ । यस वर्ष केही खेल पोखरा लगेर अर्को सिजनबाट आफ्ना सबै ‘होम’ खेल पोखरा रंगशालामा खेल्ने मनाङको तयारी छ ।
पोखरा रंगशालामा यतिबेला मैदान मर्मत, सम्भारको काम समेत भैरहेको छ । एन्फाले यस सिजन तीन चरणका लिग खेल दशरथ रंगशलामा खेलाएको छ । पोखरा रंगशालालाई समेत एन्फाले लिग खेलाउने नयाँ गन्तव्यको रुपमा राखेको छ ।
प्रतिक्रिया दिनुहोस्