नयाँ पुस्तालाई काम गर्ने मौका त दिऊँ : डा. लोहनी « Image Khabar


नयाँ पुस्तालाई काम गर्ने मौका त दिऊँ : डा. लोहनी


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले युवा पुस्तालाई काम गर्न दिनुपर्ने बताउनुभएको छ ।

एकता महाधिवेशनमा मतदान गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नयाँ पुस्तालाई गर्न दिएपछि उनीहरुले काम गरेर देखाउने विश्वास व्यक्त गर्नुभयो । राजेन्द्र लिङ्देनको पक्षमा खुलेर भोट माग्नुभएका उहाँले नयाँ पुस्ताले पार्टीलाई नयाँ उचाईमा पुर्याउने दाबी गर्नुभयो ।

हिजोकै तल्लो तहमा बसेर काम गरेका नेताहरू माथिल्लो पदमा पुग्दा पार्टीमा कस्तो परिवर्तन आउँछ भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले भन्नुभयो, ‘नयाँ पुस्तालाई काम गर्ने मौका दिऊँ, म आशावादी छु ।’ नयाँ पुस्ताले मौका पाए आफ्नो सम्पूर्ण जोसजाँगर र सिर्जना लगाउने उहाँको भनाइ छ ।

डा. लोहनीले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा छरिएर रहेका शक्तिहरुलाई एककृत गर्न अबको नेतृत्वले काम गर्नुपर्ने बताउनुभयो । छरिएर रहेका सोच र विचारलाई एकीकृत गर्न सके पार्टीले आगामी निर्वाचनमा सम्मानजनक स्थान ल्याउने उहाँको विश्वास छ ।

मंसिर १५ गतदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी राप्रपाको एकता महाधिवेशनमा लिङ्देन र कमल थापाले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । अन्य पदाधिकारीको मतदान भोटिङ मेसिनबाट भए पनि अध्यक्ष्को मतदान भने मतपत्रमा गर्ने व्यवस्था मिलाइएको छ ।