स्वस्थ शरीरका लागि योग किन आवश्यक ? « Image Khabar


स्वस्थ शरीरका लागि योग किन आवश्यक ?


0
Shares

चन्द्र कटुवाल
योग के हो भन्दा पनि के होइन भनौं । यो साधकको लागि साधना हो र रोगीको लागि उपचार पद्दती हो । यो साधन र साध्य दुवै हो ।

योग पूर्वीय दर्शनमध्यको सबैभन्दा बढी प्रचलित दर्शन हो । योग दर्शन शांख्य दर्शनसँग जोडिन्छ । जुन सबैभन्दा प्राचिन तथा वैज्ञानिक दुवै मानिन्छ ।

योग शब्दको अर्थ युज धातुमा घञ प्रत्यय मिलेर बनेको छ । जसको अर्थ जोड्नु, मिल्नु, मिलन हुनु, संयोग हुनु रहेको छ । योग संयोगको अवस्थालाई समाधि भनिन्छ । यसको मतलव जिवात्मा र परमात्माको समता अवस्था हो ।

भागवत गीतामा कर्मयोग, भक्तियोग, ज्ञानयोग र राजयोगको कुरा गरिएको छ । भने कतै हठ योग, मन्त्र योग, लय योग र राजयोगको चर्चा भएको पाइन्छ । योग साधकको प्रकृति हेरेर पनि कुन प्रकारको उपयुक्त हुन्छ र कति वर्षमा फलप्राप्त गरिन्छ भनेर शिवसंहितामा उल्लेख गरिएको छ ।

खासमा योग २ किसिमका हुन्छन् वैषेयिक र पारमार्थीक । वैषेयिक भनेको १३ किसिमको हुन्छ । जुन, विभिन्न विषयसँग सम्बन्धित छ र त्यसबाट आत्मिक सुख प्राप्त गर्न सकिँदैन । तर, पारमार्थिक योगबाट सुःख, शान्ति तथा आनन्द प्राप्त गर्न सकिन्छ । खासमा सबै दर्शनको उद्देश्य दुःखबाट मुक्ति दिनु हो । योग पनि मोक्ष प्राप्तिको साधन हो । योग खासमा अभ्यास, वैराग्य र समाधि हो ।

योगका तीन फाइदा
१.अशुद्धि क्षय ।
२.ज्ञानदीप्तिः ।
३.अविवेकख्याति ।

योगमा पतञ्जली ऋषिको नाम धेरै आउने भए पनि उनी योगदानकर्ता मात्र हुन् । उनले विभिन्न शास्त्रमा छरिएका सूत्रलाई सूत्रवद्ध गर्ने र अनुशासनमा ढाल्ने कार्य गरे । योगको आदि प्रवक्ता भने हिरण्यगर्भा हुन् । योगमा खासगरी ३ जना हिरण्यगर्भा, महर्षि वेदव्यास र कपिलमुनिको स्थान महत्वपूर्ण मानिन्छ । सिलसिलेवार रूपमा हेर्दा पतञ्जलीको स्थान एघारौं नम्बरमा आउँछ ।

योगको महत्व
‘योगश्चित्तवृत्तिनिरोध :-
(पतञ्जली योगसूत्र १/२) योग चित्त अर्थात् चित्त का वृत्तिहरूको निरोध भएको अवस्था योग हो । पतञ्जली प्रणित योगलाई राजयोग पनि भनिन्छ । यसमा अष्टाङ्गिक योग (यम, नियम, आशन, प्रणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि) हुन्छ । घेरण्ड ऋषिले मनोकामना सिद्धि तथा सप्ताङ्ग योग (षट्कर्म, आसन, मुद्रा, प्रत्याहार, प्राणायाम, ध्यान र समाधि)को कुरा गर्छन् ।

उनी भन्छन्, ‘योगबाट शरीर शुद्धीकरण, शरीरको बलियोपना, मनको स्थिरता, शान्तिसहित आत्मा र परमात्माको मिलन हुँदै समाधिको अवस्थासम्म पुगिन्छ ।’

महोपनिषदमा भनिएको छ, ‘मनः प्रशमनोपायो योग इत्यभिधीयते’ (महो ५/४२) अर्थात् मनको प्रशमन गर्ने उपायलाइ योग भनिन्छ । योगले हाम्रो मनमा आएका विभिन्न वृत्तिहरूलाई रोक्ने कार्य गर्दछ । मनलाई प्रशमन गर्दछ ।’

विभिन्न सोध अनुसन्धानले योगले विभिन्न रोगहरू ठिक पार्ने देखाएको छ । यसरी रोग विशेषको योगलाई योग थेरापीले हेर्दछ । योग थेरापीको लागि योग थेरापिष्ट योग्य तथा तालिम प्राप्त हुनुपर्दछ । योगलाई किन गृह्य भनेका रहेछन् भन्ने कुरा बल्ल आएर बुझिँदै छ ।

योगमा षटकर्म मध्यको जलनेति गर्दा यदि मुख बन्द गरी गरेमा मानिसको मृत्युसम्म हुनसक्छ । अर्थात पानी भित्र छिर्नसक्छ । फोक्सोमा पानी पस्नसक्छ । नेति गर्ने विधि छ । मुख खुल्ला गर्नुपर्यो । त्यसैले पनि भनिएको होला, ‘योग विद्या परं गोप्य’ भनेर । योग सिक्नको लागि दक्ष योग शिक्षकको निगरानीमा गर्नु पर्दछ । नत्र अदक्षले ज्ञानको कमी भएका, युट्युबको भरमा तथा आफैँले नजानी सिकाउन हतार गर्नेका कारणले योगमा विकृति पनि देखिएका छन् ।

योग गर्नको लागि स्थान तथा काल मिताहार (शरीरलाई फाइदा गर्ने खाना) तथा नाडीशुद्धी (नशा शुद्धि) गर्नुपर्छ । त्यसपछि मात्र प्राणायाम गर्नुपर्दछ । प्राणायामका लागि वसन्त र शरद ऋतु उत्तम हुँदा हेमन्त, शिशिर, गृष्म तथा वर्षा ऋतु भने खराब हुन् । विधिसम्मत योग गरेमा लाभ तथा विधि विपरीत गरेमा विभिन्न किसिमका रोगहरू निम्तिने घेरन्ड संहिता लगायतका शास्त्रहरूमा उल्लेख छ ।

योगबाट कसरी फाइदा लिन सकिन्छ ?
१. नेपाल योगभूमि भएको हुनाले योग पर्यटनको विकास गरी देशलाई आर्थिक उन्नतितर्फ लम्काउन सकिन्छ ।

२. योगले शरीर तथा मनलाई गहिरो विश्राम दिइ अम्लपित्त, ढाड दुख्ने समस्या, माइग्रेन, दम, महिनावारी वेदना, महिनावारी अनियमितता, बाँझोपन तथा कब्जियत निर्मुल गर्दछ ।

३. योगले प्रतिरक्षा प्रणालीको अति प्रवृत्तिबाट उत्पन्न हुने एलर्जी तथा अटो इम्युन डिसर्डर कम गर्दछ । त्यसैले आमवात, एलर्जीक राइनाइटिस, मल्टिपल स्केलोरोसिस, क्रोन्स डिजिज, अल्सरेटिभ कोलाइटिस, स्पोन्डाइलाइटिस आदी रोगमा फाइदा हुन्छ ।

४. योगले मेलाटोनिन, इन्डोर्फिन, अक्सिटोनिन जस्ता रसायन बनाइ खुसी, प्रेम तथा आनन्द प्रदान गर्दछ । योगले धुम्रपान, मद्यपान तथा लागुपदार्थको सेवनको चाहना कम गर्छ । शरीरमा एन्टिअक्सिडेन्टको मात्रा बढाइ बुढ्यौली कम गर्दछ । मनलाई शान्त पार्दै मस्तिष्कको क्रियाशीलता बढाउँछ । रोग तथा चोटपटक पछिको पुनस्र्थापनामा सहयोग गर्दछ ।

५. योगले स्ट्रेस हर्मोन, कोर्टिशलको मात्रा घटाइ तनाव कम गर्दछ । योग तनाव व्यवस्थापनको सबैभन्दा उत्तम माध्यम हो । बानी परिवर्तन, मनमाथि विजय, स्मरण शक्ति बढाउने, अर्धचेतनमनको व्यवस्थापन लगायतका विभिन्न रोगहरूको उपचारमा समेत योग निकै प्रभावकारी भएको छ ।

६. योग निद्राले स्मरण शक्ति बढाउने, अवचेतनमनलाई सक्रिय गराउने, शरीरको तापक्रम घटबढ गर्ने, वेभहरूमा नियन्त्रण जस्ता थुप्रै कुराहरू पहिले नै परीक्षण भएका छन् ।

७. योग–अभ्यासले मनोसामाजिक रोगहरूको समाधान हुने कुरा प्रमाणित भएको छ । अध्ययन अनुसन्धानले देखाएको छ ।

८. योगको प्रयोगले समाजमा रहेका विकृतिहरू हटाउनको लागि नैतिक शिक्षा स्थापित गर्न मद्दत गर्दछ । योग खेलकुदमा प्रयोग गर्न सकिन्छ । यसको महत्व व्यापक रहेको छ ।

योगका केही आसनहरू

सुखासन
राजकपोतासन

(लेखक कटुवाल योग प्रशिक्षक तथा योग अनुसन्धानकर्ता हुनुहुन्छ ।)