दक्षिण अफ्रिकामा फेला पर्‍यो कोरोनाको नयाँ भेरियन्ट, अहिलेसम्मकै घातक हुन सक्ने « Image Khabar


दक्षिण अफ्रिकामा फेला पर्‍यो कोरोनाको नयाँ भेरियन्ट, अहिलेसम्मकै घातक हुन सक्ने



एजेन्सी । दक्षिण अफ्रिकामा कोरोना भाईरसको नयाँ भेरियन्ट फेला परेको छ । जसलाई वैज्ञानिकहरुले डरलाग्दो र अहिलेसम्मकै घातक भनेका छन् ।

साउथ अफ्रिकाको एउटा प्रान्तमा उक्त भाइरस पुष्टि भए पनि त्यस प्रकारको भेरियन्ट अन्यत्र पनि फैलिईसकेको हुनसक्ने आशंका गरिएको छ । नयाँ खालको भेरियन्ट पत्ता लागेसंगै यो कति छिटो फैलिन्छ र यसमा अहिलेसम्म प्रयोग गरिएका खोपको कस्तो प्रभाव हुन्छ भन्ने चासो अनुसन्धानकर्ताहरुमा बढेको छ ।

वैज्ञानिकहरुले बी वान वान फाइभ टु नाइन नाम दिएको भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले नयाँ नाम भने दिन बाँकी नै छ । तर यस अघि पत्ता लागेका कोरोनाका भेरियन्ट भन्दा यो ज्यादै नै फरक भएको दक्षिण अफ्रिकाका अनुसन्धानकर्ताहरुले बताएका छन् ।

यो भाईरसले आफूहरुलाई चतिक पारेको भन्दै उनीहरुले स्वरुप फेर्ने क्रममा यसले ठूलो फड्को मारेको बताएका छन् । चीनको वुहानमा पत्ता लागेको भाइरस भन्दा यो ज्यादै फरक रहेकाले शुरुको भेरियन्टका लागि बनाइएको खोपले काम नगर्न सक्ने वैज्ञानिकहरुको भनाइ छ ।

यसैबीच, दक्षिण अफ्रिकामा नयाँ भेरियन्ट पत्ता लागे लगत्तै बेलायतले दक्षिण अफ्रिकासहित ६ वटा देशलाई रेडलिस्टमा राख्दै ती देशबाट आउनेहरुलाई अनिवार्य क्वारिन्टिन बस्नुपर्ने निर्णय गरेको छ ।

गए रातीदेखि लागू हुने गरी बेलायतले दक्षिण अफ्रिका, नामिविया, जिम्वावे, वोत्सोवाना, लिसोतो र एस्वाइटिनीबाट बेलायत आउने विमानहरुलाई रोकिएको छ । यस्तै दश दिनभित्र ती देशमा गएका गैर बेलायती र आइरिसहरु समेत बेलायत प्रवेशमा रोक लगाइएको छ ।