२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


नेपाल प्रहरीमा १८०५ जनाका लागि नयाँ भर्ना आह्वान


0
Shares

काठमाडौं, माघ २ । नेपाल प्रहरीमा नयाँ भर्नाका लागि दरखास्त आह्वान गरिएको छ ।

रिक्त रहेका विभिन्न पदहरुमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न एक हजार ८०५ जनाका लागि दरखास्त आह्वान गरिएको हो ।

नयाँ भर्नामध्ये प्रहरी निरीक्षकमा १४९ जना र प्रहरी सहायक निरीक्षकमा ५८४ जनाका लागि दरखास्त आह्वान गरिएको छ । 

यस्तै, प्राविधिक समूहअन्तर्गत् विभिन्न उपसमूहतर्फ रिक्त प्राविधिक प्रहरीजवानमा एक हजार ७२ जनाका लागि दरखास्त आह्वान गरिएको हो ।

प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी र सातैओटा प्रदेश प्रहरी कार्यालयहरूमा दरखास्त फारम पाइने र बुझाउन सकिने प्रहरीले जनाएको छ ।

प्राविधिक प्रहरीजवान पदका लागि महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, सातओटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगन्ज) र दिपायल तथा सबै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ ।

नयाँ भर्ना हुन इच्छुक व्यक्तिहरुले यही माघ ५ गतेदेखि आउँदो फागुन ११ गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् ।

उक्त भर्नासम्बन्धी विस्तृत विवरणसहितको सूचना नेपाल प्रहरीको वेबसाइटमासमेत राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।