
काठमाडौं, पुस २९ । एक वर्षअघि सार्वजनिक बसमा अश्लील हर्कत गरेर सामाजिक सञ्जाल फेसबुकमा ‘भिडियो अपलोड’ गर्ने रविन सार्की भनिने रविन रुचाललाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।
चितवनबाट पक्राउ
निकै ‘भाइरल’ भएको ‘बसकान्ड’ प्रकरणमा संलग्न रहेको भन्दै प्रहरीले लामो अनुसन्धानपछि सोमबार साँझ २१ वर्षीय सार्कीलाई चितवनबाट पक्राउ गरी काठमाडौं ल्याएको हो ।
तनहुँको अरुणोदय गाउँपालिका–१ घर भइ भरतपुर उपमहानगरपालिका विकासचोक बस्दै आएका उनलाई प्राविधिक विश्लेषणपछि चितवन प्रहरीको समन्वयमा महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
बसमा यौनजन्य भिडियो बनाइ फेसबुकमा अपलोड
सार्कीले गत वर्ष माघ ११ गते सार्वजनिक बसमा यौनजन्य भिडियो बनाइ फेसबुकमा अपलोड गरेको अपराध महाशाखाका प्रमुख सहकुल थापाले बताए ।
उक्त हर्कतपछि भने उनी भारतका विभिन्न स्थानमा लुक्दै बसेको प्रहरीले जनाएको छ ।
लोभमा ‘अपराध’
तीन वर्षअघि काठमाडौंमा रिक्सा चलाउने काम गर्ने सार्कीले सामाजिक सञ्जालमा बढी ‘लाइक’ पाउने र धेरै पैसा आउने लोभमा उक्त अश्लील भिडियो अपलोड गरेको प्रहरीसमक्ष बताएका छन् ।
उनीमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत् म्याद थपेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्