२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


१० खेलाडीमा सीमित आर्मी १–१ संकटा, आर्मीका प्रशिक्षक र ‘अफिसियल’लाई पहेंलो कार्ड


0
Shares

काठमाडौं, पुस २९ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा छैटौं चरणका खेलहरु सकिएका छन् ।

आर्मी १–१ संकटा

छैटौं चरणको अन्तिम खेलमा मंगलबार त्रिभुवन आर्मी क्लब र संकटा क्लबले १–१ गोलको बराबरी खेलेका छन् ।

नवयुगको गोल

दशरथ रंगशालामा भएको खेलमा प्रारम्भिक अग्रता लिएपनि त्यसलाई जोगाइराख्न नसक्दा आर्मी बराबरीमै रोकिएको हो ।

खेलको २९औं मिनेटमा नवयुग श्रेष्ठको गोलमा आर्मीले प्रारम्भिक अग्रता लिएको थियो ।

आर्मी १० जनामा सीमित

५२औं मिनेटमा युद्ध सिंह दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आर्मी १० जनामा सीमित भयो ।

पेनाल्टीमा गोल

आर्मीका सुमन लामाले ‘डीबक्स’भित्र ‘ह्यान्डबल’ गरेपछि ५५औं मिनेटमा पाएको ‘पेनाल्टी’लाई सदुपयोग गर्दै संकटाका अमित तामाङले बराबरी गोल गरे । त्यसपछि आर्मीले प्रयास गरे पनि गोल गर्न सकेन ।

प्रशिक्षक र ‘अफिसियल’लाई पहेंलो कार्ड

‘इन्जुरी’ समयमा अनुशासन नाघेपछि आर्मीका प्रशिक्षक र ‘अफिसियल’लाई भने रेफ्रीले पहेंलो कार्ड देखाएका थिए ।

अंकतालिका

छैटौं चरणको समाप्तिसम्म गोल अन्तरमा आर्मीलाई पछाडि पार्दै मच्छिन्द्र फुटबल क्लब १३ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

१२ अंकको साविक विजेता मनाङ–मर्स्याङ्दी क्लब तेस्रो स्थानमा छ ।

१० अंकको थ्रीस्टार क्लब चौथो तथा ८ अंकको जावलाखेल युथ क्लब पाँचौं स्थानमा छ ।

न्यूरोड टिम (एनआरटी), नेपाल पुलिस क्लब र संकटाको समान ८ अंक छ ।

शुक्रबारदेखि सातौं चरण

सातौं चरणका खेलहरु आउँदो शुक्रबारदेखि सुरु हुनेछन् । शुक्रबार दिउँसो ३ बजे दशरथ रंगशालामा मच्छिन्द्रले हिमालयन शेर्पा क्लबसित खेल्नेछ । हिमालयन शेर्पा ४ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।