
कैलाली, पुस २९ । ‘इमो’बाट चिट्ठा परेको भन्दै ठगी गरेको आरोपमा सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले १० लाख चार हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरु
२५ लाख भारतीय रुपैयाँ चिट्ठा परेको भन्दै ठगेको आरोपमा भारतीय नागरिकसहित सातजनालाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका–१२ का आइएमई सन्चालक ३८ वर्षीया इन्दिरा पुरी, सोही आइएमईमा कार्यरत् ४२ वर्षीय मनमोहन अधिकारी, विराटनगर महानगरपालिका–१० का सजिलो मनि ट्रान्सफरका सन्चालक ३७ वर्षीय विश्वनाथ राजवंशी छन् ।
यस्तै, मोरङकै रंगेली नगरपालिका–६ का २८ वर्षीय भवेशकुमार मण्डल, सुनवर्षी नगरपालिका–८ का २२ वर्षीय अब्दुल सलाम, भारत, बिहारका २५ वर्षीय शतिष मण्डल र सोही ठाउँका ५५ वर्षीय मोहम्द इसुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
उजुरी
जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको मंगलबार कैलाली प्रहरीले जानकारी दिएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका–६ की धनकला धामीको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।
ठगी
भारु २५ लाखको चिट्ठा परेको र उक्त पैसा पाउनका लागि करवापत्को रकम तिर्नुपर्ने भनी पटक–पटक गरी १० लाख चार हजार मागिएको थियो । धामीले आइएमईमार्फत् उक्त रकम पठाएकी थिइन् ।
थप एक लाख २० हजार रकम मोरङका विक्रम चौधरी र नारायण चौधरीको नाममा पठाइदिन भनेपछि शंका लागी धामीले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएकी थिइन् ।
भारतीय नागरिक र आइएमई सन्चालकसमेतको संलग्नतामा ठगी भएको पाइएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।
म्याद थप
उनीहरुविरुद्ध कैलाली जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्