
-सुसन रामदाम र रक्षा बज्राचार्य(ईमेज)
काठमाडौं । माघ १ गते देखि खुल्लामञ्चमा सवारी पार्किङ गर्न निषेध गरिएको छ ।
अव्यस्थित पार्किङले खुल्लामञ्चको स्वरुप विग्रिएको भन्दैं सरोकारवालाहरुले विरोध गरेपछि काठमाडौं महानगरपालिका वडा नम्बर २८ को पहलमा खुल्लामञ्चलाई पार्किङ निषेध गर्न लागिएको हो ।
कुनै समय राजनीतिक पार्टीले आमसभा गर्ने र जनताहरुले बसिबियालो गर्ने खुल्लामञ्च यतिबेला जथाभावी पार्किङ र भौतिक पूर्वाधारहरुको निर्माणले कुरुप बनेको छ ।
खुल्ला ठाउँ खुल्ला नै हुनुपर्छ भन्दै अकुपाई टुँडिखेलका अभियन्ताहरुले निरन्तर विरोध गर्दै आएपछि काठमाडौं महानगरपालिका वडा नम्बर २८ ले जथाभावि पार्किङलाई हटाउन पहलकदमी थालेको छ । माघ १ गते देखि खुल्लामञ्चमा सवारी पार्किङ गर्न निषेध गरीएको व्यानर खुल्लामञ्च परिसरमा टाँगिएको छ ।
सवारी पार्किङले अस्तव्यस्त बनेको खुल्लामञ्चमा पार्किङ हटाउनु निकै सकारात्मक काम भएको सर्वसाधरणले बताएका छन् । ऐतिहासिक खुल्लामञ्चलाई पूरानै स्वरुपमा फर्काइनुपर्ने जनआवाज रहेको छ ।
वीर अस्पताल र दरबार हाइस्कुलका भवन निर्माणका क्रममा सामग्री राख्न महानगरपालिकाले खुल्लामञ्च उपलब्ध गराएको भएपनि तोकिएको समयावधि सकिँदा पनि अझै पनि निर्माण सामाग्री र सवारीसाधान त्यहीँ रहेको महानगरपालिकाको वडा नम्बर २८ ले बताएको छ ।
दुवैलाई निर्माण सामग्री र सवारी हटाउन जानकारी गराइसकेको वडा नम्बर २८ का वडाअध्यक्ष भाइराम खड्कीले बताए ।
माघ १ गतेदेखि खुल्लामञ्चमा पार्किङ निषेधको सूचना आएपछि अनधिकृतरुपमा पार्किङ गर्दैै आएका सवारी चालकहरु भने विकल्प दिएर पार्किङको समस्यालाई हल गर्नुपर्ने बताउछन् ।
काठमाडौं महानगरपालिकाले भने वीर अस्पताल र दरवार हाइस्कुललाई अस्थायी रुपमा निर्माण सामाग्री र ढुवानी सवारी राख्नबाहेक अन्य सार्वजनिक सवारी साधानलाई पार्किङको कुनै व्यवस्थापन नगरिएको महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले बताए ।
अव्यवस्थित पार्किङ र निर्माण सामग्री राख्दा खुल्लामञ्च कुरुप त भएको छैन ऐतिहासिक धरोहरको अपमान समेत गरिएको छ ।
माघ १ गतेदेखि अव्यवस्थित पार्किङ हटाएर खुल्लामञ्चलाई साच्चिकै पहिलाकै स्वरुपमा फर्काइन्छ या सूचना टाँस औपचारिकतामा सिमित हुन्छ कि भन्ने पनि आशंका गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्