
काठमाडौं, पुस २८ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्यूरोड टिम (एनआरटी) विजयी भएको छ ।
एनआरटी १–० पुलिस
सोमबार दशरथ रंगशालामा भएको पहिलो खेलमा एनआरटीले नेपाल पुलिस क्लबलाई १–० ले हराएको हो ।
निर्णायक गोल
एनआरटीलाई जिताउन दर्शन गुरुङले खेलको ७६औं मिनेटमा निर्णायक गोल गरे ।
पुलिसले भने उल्लेख्य खेल खेल्न सकेन ।
‘म्यान अफ दी म्याच’
एनआरटीका मिडफिल्डर एरिक विष्ट ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले १० हजार रुपैयाँ पाए ।
च्यासल ०–० सशस्त्र, शन्तिपूर्ण खेल
सोमबारै दशरथ रंगशालामा भएको दोस्रो खेलमा च्यासल युथ क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबसित बराबरी खेलेको छ । खेल गोलरहित बराबरीमा सकिएको हो ।
शान्तिपूर्ण खेलमा कुनैपनि खेलाडीले पहेंलो कार्डसमेत खाएनन् ।
म्यान अफ दी म्याच
सशस्त्रका राजन गुरुङ खेलको म्यान अफ दी म्याच घोषित हुँदै १० हजार रुपैयाँ पुरस्कार पाए ।
अंकतालिका
यो खेलपछि लिगको अंकतालिकामा ६ खेलबाट १३ अंकसहित मच्छिन्द्र क्लब शीर्ष स्थानमा यथावत् छ ।
त्रिभुवन आर्मी क्लब र मनाङ–मस्र्याङ्दी क्लब समान १२ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
चौथो स्थानको थ्रीस्टारको १० अंक छ ।
पाँचौं स्थानको जावलाखेल युथ क्लबको ९ अंक छ भने पुलिसलाई हराएसँगै गोलअन्तरमा पछि पार्दै ८ अंकबाट एनआरटी छैटौं स्थानमा पुगेको छ ।
मंगलबारको खेल
छैटौं चरणको अन्तिम खेलमा मंगलबार आर्मी र संकटा क्लबले दिउँसो ३ बजे खेल्नेछन् । जितले आर्मी शीर्ष स्थानमा पुग्नेछ । संकटाले जिते चौथो स्थानमा पुग्न सक्नेछ ।
प्रतिक्रिया दिनुहोस्