५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


माओवादी प्रदेश २ मा तोकिए इन्चार्ज


0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश–२ का आठ जिल्लामा पार्टी समन्वय समिति संयोजक चयन गरेको छ । माओवादी केन्द्र प्रदेश–२ समितिको पदाधिकारी बैठकले प्रदेशमा रहेका आठवटै जिल्लाका संयोजक र दुई जिल्लामा सह इन्चार्ज तोकेको हो ।

नेकपा एमाले र एकीकृत नेकपा माओवादी एकीकरण भएर हुँदा एमालेले प्रदेश–२ का आठवटै जिल्लामा जिल्ला संयोजक लिएको थियो भने माओवादी केन्द्रले इन्चार्ज लिएको थियो ।

पार्टी विघटन भएर पूर्ववत् अवस्थामा फर्किएपछि रिक्त संयोजक पदमा पार्टीका जिल्ला सचिवहरूलाई चयन गरिएको प्रदेश कमिटीले जनाएको छ ।

प्रदेश कमिटीको पदाधिकारी बैठकले धनुषाको संयोजकमा दीपक यादव, सिरहाको संयोजकमा रामकुमार यादव, सप्तरीको संयोजकमा उमेश कुमार यादव, महोत्तरीको संयोजकमा तुलसी ढुंगाना, सर्लाहीको संयोजकमा कमल बुढाथोकी, रौतहटको संयोजकमा देवेन्द्र पटेल, बाराको संयोजकमा अनिल श्रेष्ठ र पर्साको संयोजकमा रामदरेश कुशवाहलाई चयन गरेको हो ।

पर्साका पार्टी सचिव इन्चार्ज रहेकाले जिल्ला नेतृत्वसँग समन्वय गरेर पूर्व पदाधिकारी कुशवाहालाई संयोजक चयन गरिएको छ । बैठकले धनुषा जिल्लाको सहइन्चार्जमा झल्कु यादवलाई तोकेको छ भने सर्लाहीको सहइन्चार्जमा लोचन धिमाल र रामपृत रायलाई जिम्मेवारी दिइएको छ ।