
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि छैटौं चरणका खेलहरु दशरथ रङ्गशालामा हुँदैछन् ।
मध्यान्ह १२ बजे मच्छिन्द्र क्लबले जावलाखेल युथ क्लबसंग तथा दिउँसो ३ बजे मनाङ्ग मस्र्याङ्दी क्लबले हिमालयन शेर्पा क्लबसँग खेल्नेछ ।
साविक विजेता मनाङ्ग र मच्छिन्द्र दवावमा छन् । दुवै बीचको गत सोमबार भएको खेलमा खेलाडीहरुबीच हानाहान भएपछि अखिल नेपाल फुटबल संघ एन्फाको अनुशासन समितिले दुवै क्लबका तीन–तीन खेलाडीलाई कार्वाही गर्दा दवावमा परेका हुन् ।
मनाङ्गका जगजीत श्रेष्ठलाई १० हजार रुपैयाँसहित पाँच खेल, अशोक बराललाई १० हजार रुपैयाँसहित छ खेल तथा रञ्जन विष्टलाई दुई खेलमा प्रतिवन्ध लगाइएको छ ।
त्यस्तै मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ्ग र विजय धिमाललाई समान दुई खेलमा प्रतिवन्ध लगाइएको छ ।
यसैबीच, पाँचौं चरणको समाप्तिसम्म त्रिभुवन आर्मी क्लब १२ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
११ अंकको मनाङ्ग दोस्रो, समान १० अंकबाट मच्छिन्द्र र थ्रीस्टार क्लब क्रमशः तेस्रो र चौथो स्थानमा छन् । पाँचौं स्थानको जावलाखेलको ९ तथा छैटौं स्थानको नेपाल पुलिस क्लबको ८ अंक छ ।
प्रतिक्रिया दिनुहोस्