Logo १० माघ २०८२, शनिबार | Sat Jan 24 2026


विमानस्थलमा अल्मुताइरीले भने, ‘म मेरो घर फर्किएको छु’

‘एन्फा र क्यूएफए सँग मेरो ५ वर्षको सम्झौता हो, अहिलेलाई तीन वर्षका लागि मात्र हस्ताक्षर गरेको हो’

0
Shares

काठमाडौं । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो घर फर्कन पाउँदा खुसी लागेको बताएका छन् ।

त्रिभुवन विमास्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अल्मुताइरीले घर फर्कन पाउँदा आफूलाई धेरै खुसी लागेको बताएका हुन् । उनले भने, ‘मलाई धेरै खुसी लागेको छ, म मेरो घर फर्किएको छु ।’

अल्मुताइरीले एन्फा र कतार फुटबल एशाेसियसन (क्यूएफए)सँग आफ्नो ५ वर्षको सम्झौता भएको खुलासा गरेका छन् । ‘मेरो सम्झौता ५ वर्षका लागि हो, अहिलेका लागि भने तीन वर्षका लागि हस्ताक्षर गरेको हुँ,’ उनले भने, ‘यदि एन्फा र म राजी भएको अवस्थामा दुई वर्ष स्वतः म यहिँ रहनेछु ।’

उनले नेपाली टीम २०२७ सम्म एसियन कप क्वालिफायर हुने आफ्नो लक्ष्य रहेको पनि बताएका छन् । ‘धेरै मानिसले विश्वकप खेल्ने आशा राख्दै मलाई म्यासेज गर्नुभएको छ,’ उनी भन्छन्, ‘त्यति धेरै आशा पनि नराख्नुस्, २०२७ सम्म हामी एसियन कप खेल्छौं ।’

उनले पछिल्लो तीन महिनामा भएका नकारात्मक कुराहरुलाई आफूले भुलेको पनि बताए । ‘मेरो मनमा नकारात्मक कुरा छैन,’ उनले थपे, ‘म नयाँ उत्साह र ऊर्जाको साथमा आएको छु ।’

नयाँ खेलकुद मन्त्री नियुक्त भएसँगै आफूलाई २० भन्दा बढीपटक फोन आइसकेको अल्मुताइरीले खुलासा गरेका छन् । अहिलेको मन्त्री नियुक्त भएपछि मलाई २० पटक भन्दा धेरै फोन आइसक्यो, उहाँले मलाई फर्कनको लागि एकदमै धेरै अनुरोध गर्नुभयो, हामी जे पनि गर्न तयार छौं भन्नुभएको थियो, उहाँ र म बीच आज बिहान मात्र कुराकानी भएको थियो ।

अल्मुताइरीले विमल घर्तीमगरको प्रस्तुति हेर्न आफू आतुर रहेको प्रतिक्रिया दिएका छन् । यदि उनी शतप्रतिशत फिट रहेनछन् भने उनीसँग रिसाउने अल्मुताइरीले बताएका छन् ।

परिवार र बालबच्चलाई भेट्न पाएकाले आफ्नो उमेर घटेको महसुस भइरहेको अल्मुताइरीले बताए ।