
सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका –७ मा हुन लागेको प्रदेश ३ स्तरीय पुरुष भलिबल प्रतियोगिताको सबै तयारी पूरा भएको छ । आयोजक संस्थाले बिहीबार गरेको पत्रकार सम्मेलनमा सबै तयारी पूरा भएको जानकारी दिएको हो ।
भदौरे गणेश सामाजिक संस्थाको आयोजना र नेपाने युथ क्लबको सह आयोजनामा हुन लागेको प्रथम भदौरे गणेश कप पुस २६ गतेबाट सञ्चालन हुँदैछ । भ्रमण वर्ष २०२० को सफलताको लागि सिन्धुपाल्चोकसहित चौतारा साँगाचोकगढी नगरपालिका र सानोसिरुवारी क्षेत्रका पर्यटकीय महत्वका सम्पदाको प्रचारप्रसार गर्नका लागि यो प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
प्रदेश ३ का १३ मध्ये ११ जिल्ला सहभागी हुन लागेको आयोजक संस्थाका अध्यक्ष रविन गौतमले बताए । ‘रसुवा र काठमाण्डौं बाहेक सबै जिल्लाका खेलाडीहरु प्रतियोगितामा सहभागी हुदैं हुनुहुन्छ,’ अध्यक्ष गौतमले भने, ‘हामी सबै खेलाडी तथा अतिथिहरुलाई स्वागत गर्न आतुर भएर बसेका छौं ।’
पर्यटन र खेलकुद एकैसाथ जोडिएकाले प्रतियोगितामा सहभागी हुन खेलाडी तथा दर्शकलाई समेत अध्यक्ष गौतमले निमान्त्रणा गरे । प्रतियोगितामा प्रथम हुने टीमले दुई लाख दुई हजार बीस रुपैंया नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने दोस्रो हुने टीमले भने एक लाख एक हजार दश रुपैंया नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् ।
जिल्लाकै ठूलो धनराशी पुरस्कार भएको सो प्रतियोगितामा खेलभरीकै उत्कृष्ठ खेलाडी तथा विधागत उत्कृष्ठ खेलाडीलाई समेत पुरस्कृत गरिनेछ । सिन्धुपाल्चोक जिल्लामा यति धेरै जिल्ला सहभागी भएर हुन लागेको यो भलिबल प्रतियोगिता हालसम्मकै ठूलो प्रतियोगिता पनि हो ।
प्रतियोगितामा सहभागी हुने सबै खेलाडी तथा प्रशिक्षकलाई आवास तथा खानाको व्यवस्था समेत आयोजक संस्थाले नै व्यहोर्नेछ भने पर्यटकीय स्थलको चिनारी झल्काउने प्रचार समाग्री समेत प्रदर्शन गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्