बार परिसरभित्रै कुटिए अधिवक्ता, बार पदाधिकारी र न्यायाधीशहरू अलग-अलग छलफलमा « Image Khabar


बार परिसरभित्रै कुटिए अधिवक्ता, बार पदाधिकारी र न्यायाधीशहरू अलग-अलग छलफलमा

न्यायालय विवादको बाइप्रडक्ट

१२ कार्तिक २०७८, शुक्रबार १३:१४


काठमाडौं, कात्तिक १२ । नेपाल बार एशोसिएशनको परिसरभित्रै कानुन व्यवसायी कुटिएका छन् । कुटिने र कुट्ने दुवै अधिवक्ता रहेका छन् ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामाबारे अदालत र बारबाट आवाज उठिरहेका बेला यसै विषयमा विवाद हुँदा बार परिसरभित्रै कानुनकर्मी नै कुटिएका हुन् ।

सर्वोच्चका न्यायाधीशहरु इजलाशमा फर्कनुपर्ने र बेञ्च सुचालु गर्नुपर्ने पक्षमा बोल्दा अधिवक्ता भूमिनन्द चुँडाललाई कुटपीट गरिएको हो । उनलाई थप्पड हानिएको हो ।

पीडित अधिवक्ता

चुँडालमाथि हातपात गर्ने अधिवक्ता भने विराट न्यौपाने भएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने पक्षमा रहेका न्यौपानेले चुँडालमाथि हातपाल गरेका हुन् ।

बार परिसरमै कानुनकर्मी कुटिँदा बार पदाधिकारीहरु भने प्रधानन्यायाधीश राणालाई राजीनामा दिन बाध्य पार्ने विरोध कार्यक्रम ल्याउन छलफलमा बसिरहेका थिए ।

उता, सर्वोच्च अदालतमा भने प्रधानन्यायाधीश राणाले आजका लागि आठ वटा इजलाश तोकेपनि कुनैको पनि सुनुवाई हुन सकेको छैन ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै बेञ्च नै बहिष्कार गरिरहेका बाँकी न्यायाधीशहरु आगामी रणानीति बनाउन छलफलमै छन् भने संयुक्त इजलाश तोकेको राणाले पनि सुनुवाई गर्न पाउनुभएको छैन ।