
बेत्रावती, पुस २३ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका जिल्ला सेक्रेटरी ‘अशोक’ भनिने विन्तोष सिलवाललाई पक्राउ गरेको छ ।
उनी काठमाडौंबाट पक्राउ परेको जनाइएको छ ।
‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता’विरुद्धको कसुर अभियोगमा जिल्ला प्रशासन कार्यालयमार्फत् म्याद लिएर सिलवाललाई अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्ले मंगलबार जानकारी दिए ।
नुवाकोटको विदुर नगरपालिका वडा नम्बर–२, नुवाकोटडाँडा, वडा नम्बर–१०, गेर्खु, बेलकोटगढी नगरपालिका वडा नम्बर–४, पेटारेपाखामा एनसेलको टावरमा आगजनी, ककनी गाउँपालिकाको वडा नम्बर–१ को वडा कार्यालयमा बम विस्फोट तथा डर र त्रास दिएर विभिन्न स्थानमा चन्दा संकलन गरेकोलगायतका अभियोगमासमेत सिलवाल संलग्न रहेको प्रहरीले दाबी गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्