
सर्लाही । सर्लाहीको कर्णाली मानिने उत्तरी चुरेभेगस्थित विकट गाउँ नारायणखोलामा तीन विगाहा भन्दा बढी क्षेत्रफलमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट पारेको छ ।
लालबन्दी नगरपालिका–१४, साविक नारायणखोला गाविस अन्तर्गत मटरदोभान क्षेत्रमा तीन विगाहा क्षेत्रफलमा गरिएको सात हजार भन्दा बढी गाँजाको बोट काटेर नष्ट पारिएको नेपाल प्रहरीका उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिए ।
सोमबार अपरान्ह जिल्ला प्रहरी कार्यालय मलंगवा, ईलाका प्रहरी कार्यालय लालबन्दी, प्रहरी चौकी पत्थरकोट, सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मीहरुको टोलीले गाँजा फँडानी गरेको हो ।
गाँजा फँडानी गर्न प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, प्रहरी उपरीक्षक पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठ सहित ठूलो संख्यामा सुरक्षाकर्मी टोली नारायणखोला पुगेको थियो ।
व्यवसायिक ढंगले गाँजा खेती भईरहेको विशेष सुराकीका आधारमा गाँजाको बोट नष्ट गर्न सुरक्षाकर्मीको टोली नारायणखोला पुगेको प्रजिअ जिसीले जानकारी दिए ।
नेपाल प्रहरी सर्लाहीका प्रमुखको रुपमा सरुवा भएर आए लगतै प्रहरी उपरीक्षक पोखरेलले केही साताअघि सर्लाहीकै हरिवन नगरपालिका–१, स्थित चुरेक्षेत्रको बेलडाँडामा लगाइएको गाँजा फडानी गरिएको थियो । वरिपरी मकैं लगाउने र बारीभरी गाँजा खेती हुने गरेको देखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्