पहिरोले घर पुरिँदा धरानमा नाबालक दिदीभाइको मृत्यु « Image Khabar


पहिरोले घर पुरिँदा धरानमा नाबालक दिदीभाइको मृत्यु



सुनसरी । अविरल वर्षासँगै पहिरोले घर पुरिँदा सुनसरीको धरान उप–महानगरपालिकामा दुई नाबालकको मृत्यु भएको छ । मंगलबार दिउँसो धरान १३ स्थित नागेश्वरीमा मार्गमा पहिरोले घर पुरेका कारण नाबालक दुई दिदीभाइको मृत्यु भएको हो ।

घरमाथिबाट खसेको पहिरोले स्थानीय निशान राईको घर पुर्दा उनका ८ वर्षीया छोरी निसु र ४ वर्षीय छोरा निहान राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताएका छन् ।

अभिभावक घर अगाडि बसिरहेको अवस्थामा पछाडी पट्टीको कोठामा रहेका दिदीभाइलाई पहिरोले पुरेको हो । पहिरोले नाबालक छोरोछोरी गुमाएको निसानको परिवार घरवारविहिन भएको छ । छोराछोरी गुमाएसँगै घर पनि पहिरोले पुरेपछि उनीहरू छिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।

मृतक दुईको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।