Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


हिउँले सेताम्यै तिनजुरे, हिउँ खेल्न जाने पर्यटकहरुको घुइँचो


0
Shares

-प्रकाश पाक्साँवा/ईमेज 

तेह्रथुम । शुक्रबार परेको बर्षाका कारण तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सिमावर्ती क्षेत्र तिनजुरे क्षेत्र हिउँले सेताम्यै बनेको छ ।

बर्षासँगै परेको हिउँले यहाँका डाँकाहरु ढाकेको छ भने जनजीवन समेत प्रभावित बनेको छ । लेकाली भेगमा बढ्दो जाडोका कारण बालबालिका तथा बृद्धबृद्धाहरु धेरै प्रभावित बनेका छन ।

हिउँले सेताम्यै बनेको पथिभारा, गुफापोखरी, चौकी लागयतका स्थानमा हिउँ खेल्न पर्यटकहरुको घुइँचो छ ।

गुफापोखरीका स्थानीय सन्तोष लिम्बुका अनुसार पाँच फिटसम्म हिउँ जमेको छ । पर्यटकहरु हिउँ खेल्न आउनेको संख्या बढ्दो छ ।

उनले भने, ‘दुईबर्ष अघिसम्म हिउँ खेल्न आउने पर्यटकहरु तुसारो हेरेरै फकिन्थे तर गत बर्षदेखि हिउँले सेताम्यै पहाडहरुमा पर्यटकहरु खुबै रमाउने गरेका छन् ।’

हिउँ परेको सुनेर पहिलो पटक पाथीभरा पुगेकी तेह्रथुम फाक्चामारा हाक्पाराकी मनु लिम्बु हिउँमा रमाउन पाउँदा एकदमै खुशी लागेका बताइन ।

मनुसँगै पुगेकी सपना लिम्बुलाई पनी हिउँ खेल्न पाउँदा मनको चाहा पुरा भएको बताइन । मनु र सपना झैं यतिबेला हिउँ खेल्न तिनजुरे, पाथीभरा, गुफापोखरी, मंगलबारे चौकी लगायतका स्थानमा सयौंको संख्यामा पर्यटकहरु रमाइरहेका छन् ।

पूर्वी तराइका जिल्लाबाट टिएमजे क्षेत्रमा हिउँ खेल्न जानेहरुको भीड छ । गुराँसको राजधानीको रुपमा चिनिएको टिएमजे क्षेत्र हिउँ खेल्ने गन्तब्यको रुपमा पनि चिनिदै आएको छ ।

तेह्रथुमको बसन्तपुरबाट करिब २० मिनेटमा सवारी साधनमा पुग्न सकिने यस क्षेत्रमा रहेका प्राकृतिक सुन्दरतामा पर्यटकहरु मोहित हुने गरेका छन ।