२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


अस्ट्रेलियामा सन्दीपको उत्कृष्ट बलिङ


0
Shares

काठमाडौं, पुस १९ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी ‘बिग ब्यास लिग’ क्रिकेटमा उत्कृष्ट बलिङ गरेका छन् ।

बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट खेल्दै आएका उनले शनिबार मेलबर्न रेनेगेड्सविरुद्धको खेलमा उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका हुन् ।

उक्त खेलमा मेलबर्न स्टार्स ८ विकेटले विजयी भएको छ ।

अघिल्लो खेल चोटका कारण गुमाएका सन्दीपले शनिबार ४ ओभर बलिङ गर्दै २६ रन खर्चिए ।

उनले पहिलो ओभरमा विनाकुनै विकेट ७ रन दिए । आफ्नो दोस्रो ओभरमा पनि सन्दीपले कुनै विकेट झार्न सकेनन् । उनले सो ओभरमा १२ रन खर्चिए ।

तेस्रो ओभर भने उनका लागि उपलब्धिपूर्ण रह्यो । उक्त ओभरमा उनले २ विकेट लिँदै ४ रनमात्र खर्चिए । उनले सावन मार्स र डेनियल क्रिस्टिनलाई पेभेलियन फर्काएका थिए ।

आफ्नो अन्तिम ओभरमा सन्दीपले टोम कुपरको विकेट लिँदै ३ रनमात्र खर्चिए ।

सन्दीपको टोली मेलबर्न स्टार्सले शनिबार टस जितेर फिल्डिङ रोजेपछि मेलबर्न रेनेगेड्सले निर्धारित् २० ओभरमा ९ विकेट गुमाएर १४२ रन बनाएको थियो ।

१४३ रनको विजयी लक्ष्य मेलबर्न स्टार्सले १८.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

बिग ब्यासमा सन्दीपको टोली मेलबर्न स्टार्स अंकतालिकाको शीर्ष स्थानमा छ । मेलबर्नले हालसम्म ६ खेलमध्ये पाँचमा जित निकाल्दै १० अंक बटुलेको छ । रासस