
सुनसरी, पुस ११ । जबर्जस्ती करणीको आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीको बयान शुक्रबार जिल्ला अदालत सुनसरीमा सकिएको छ ।
वादी–प्रतिवादी दुवैतर्फको बयान सकिएको हो ।
समय अभावका कारण शुक्रबारै थुनछेक बहस भने सुरु हुन सकेन ।
आइतबार थुनछेक बहस हुने जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीले बताए ।
प्रतिवादीको तर्फबाट अधिवक्ताहरु मोहन कोइराला, रुपेश कोइराला, मोहन पराजुली र सरोज गिरी तथा पीडितको तर्फबाट सरकारी वकिलहरु अनिल रेग्मी, गोकुल निरौला, अनन्त न्यौपाने, नवराज विष्ट, रेणुका राई र रेवती सुवेदीले बहस गर्ने भएका छन् ।
भजन–कीर्तन र नाराबाजी
अदालतभित्र बयान भइरहँदा बाहिर गिरीका समर्थकहरुले भजन–कीर्तन गरेका थिए ।
महिला अधिकारकर्मीहरुले भने कडा सजायको माग गरेका थिए । अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
प्रक्रिया
थुनछेक बहसपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने आदेश दिनेछ ।
प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले बिहीबार जिल्ला अदालतमा जर्बजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरेको थियो ।
अस्पताल–अदालत–अस्पताल
सुनसरीको चतरास्थित आश्रमका गिरीविरुद्ध आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गएको मंसिर १६ गते विराटनगरस्थित विराट नर्सिङहोमको ‘आइसीयु’कक्षबाटै पक्राउ गरेको थियो ।
शुक्रबार पनि उनलाई विराट नर्सिङहोमबाटै अदालतमा ल्याइएको थियो । बयानपछि पुनः सोही अस्पताल लगिएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उनी त्यहाँ उपचाररत् छन् ।
प्रतिक्रिया दिनुहोस्