काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘पेरिस सम्झौता’अनुसार विश्वको औसत तापक्रम वृद्धिदर १ दशमल ५ डिग्री सेल्सियसमा सीमित राख्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ ।
संयुक्त अधिराज्यका कूटनीतिज्ञ एवं जलवायु परिवर्तनसम्बन्धी २६औं अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) का लागि एसिया प्रशान्त क्षेत्रीय राजदूत केन ओफ्लाहेर्टी नेतृत्वको प्रतिनिधिमण्डलसँग शनिबार भएको भेटमा प्रधानमन्त्री देउवाले तापक्रम वृद्धिदरमा सीमितता राख्न त्यही रूपमा अन्तर्राष्ट्रिय प्रतिबद्धता पनि हुनुपर्ने अपेक्षा राख्नुभयो ।
प्रधानमन्त्री देउवाले जलविद्युत्, वन क्षेत्रलगायत अपार सम्भावनाबाटै सन् २०५० सम्ममा कार्बन उत्सर्जन शून्यमा पु¥याउने ‘पेरिस सम्झौता’अनुसारको प्रतिबद्धता कार्यान्वयन गर्न नेपाललाई मद्दत पुग्ने स्पष्ट पार्नुभयो । उहाँले नेपाल पर्वतीय मुलुक भएकाले जलवायु परिवर्तनका उच्च जोखिम रहेको पनि उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री देउवाले कोभिड–१९ का सन्दर्भमा बेलायतले नेपाललाई ‘रेडलिष्ट’मा राखेको सम्बन्धमा सूचीबाट हटाउन आग्रह समेत गर्नुभयो । जवाफमा राजदूत ओफ्लाहेर्टीले ‘रेडलिष्ट’ बाट हटाउने सम्बन्धमा बेलायत सरकारको छुट्टै निकायले बेलाबेला विभिन्न विषयको विश्लेषण गरी पुनरावलोकन गरिरहेको जानकारी दिनुभयो ।
राजदूत ओफ्लाहेर्टीले कोप–२६ का सन्दर्भमा नेपालको वस्तुस्थिति, तयारीलगायत विषयमा चासो राख्नुका साथै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नोभेम्बर १ र २ तारिखमा गर्ने ‘ग्लोबल लिडर समिट’ र अन्य सम्मेलनमा नेपालको सक्रिय सहभागिताको अपेक्षा राख्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्