डोलराज रानाभाट
चितवन । नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी चितवनमा पनि ह्वात्तै बढेको छ ।
उम्मेदवारहरू आ–आफ्नो पक्षमा जित हासिल गराउन कम्मर कसेर लागेका छन् । चितवनको एकमात्रै महानगरपालिका भरतपुरको सभापतिमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
शनिबार उम्मेदवारी दर्ता र आइतबार मतदान हुने तालिका अनुसार उनीहरू जित सुनिश्चत रहेको दावी गरिरहेका छन् । विश्वप्रकाश माविमा हुन गइरहेको निर्वाचनमा सभापतिमा सर्वसम्मत गराउन कठिन देखिएको छ ।
ब्यानर, पर्चा, पम्प्लेटसहित चुनावी मैदानमा दौडिरहेका सभापति पदका उम्मेदवारहरू निकै व्यस्त छन् । प्रतिवद्धता पत्र सार्वजनिक गर्दै चुनावी प्रतिस्पर्धामा दौडिरहेका अर्जुनप्रसाद रिजाल, लिक बाहिर गइरहेको कांग्रेसलार्ई सम्हाल्न आफू सभापतिमा आउन लागेको बताउनुहुन्छ ।
सभापतिकै अर्का उम्मेदवार हिरामणि अधिकारी चुनाव जित्ने निश्चित भएको दावी गर्नुहुन्छ । ‘एक घर, एक कांग्रेस’ आफ्नो एजेण्डा रहेको उहाँको भनाइ छ ।
चित्रसेन अधिकारी, कांग्रेसको संगठन बलियो गराउनेदेखि आगामी निर्वाचनमा कांग्रेसमय गराउने योजनाका साथ सभापतिमा निर्वाचित हुने दावी गर्नुहुन्छ ।
भरत अधिकारीको दावी पनि कम छैन । विद्यार्थी राजनीति देखि कांग्रेसमा रहेको बताउँदै उहाँ जटिल मोडमा रहेको कांग्रेसलाई बचाउँदै सबै उपलब्धीलाई संस्थागत गर्न आफू सभापतिमा आउनैपर्ने बताउनुहुन्छ ।
युवा परिचालन र कांग्रेसमा युवा आकर्षण बढाउन भन्दै बच्चन कार्की पनि मैदानमा हुनुहुन्छ । भरतपुर महानगरको सभापति पदमा उम्मेदवारी दिएर प्रचारप्रसारमा लाग्नुभएको उहाँ यो पटक युवालाई हेर्न आग्रह गर्नुहुन्छ ।
आ–आफ्नो एजेण्डा प्रस्तुत गरेर चुनावी मैदानमा रहेका सभापतिका उम्मेदवारहरू कांग्रेस भएर रुखमा भोट हाल्न नपाएको कुराले पोलिरहेको बताउँछन् ।
कहिले हलो र कहिले हसियाँ हतौडामा भोट हाल्नुपरेको बाध्यताबाट मुक्त गराउने एजेण्डा भने अधिकांशको समान छ । आइतबार क्रियाशील सदस्यहरूलेसबै कुराको टुंगो लगाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्